समावेशिता, समानता र लोकतन्त्रको सुदृढ भविष्यका लागि निरन्तर संघर्ष गर्दै आएकी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) ले आगामी निर्वाचनमा मोरङ क्षेत्र नं. ४ बाट प्रत्यक्ष तर्फ उम्मेदवारी घोषणा गरेकी छन्।
लामो समयदेखि सामाजिक न्याय, समावेशी लोकतन्त्र, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको मानव अधिकारको क्षेत्रमा सक्रिय रहँदै आएकी लिम्बुले राजनीति क्षेत्रमा आवाजविहीन समुदायको प्रतिनिधित्व गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताइन्। उनका अनुसार निर्णय तहमा पुगेर मात्रै सीमान्तकृत समुदायका वास्तविक मुद्दाहरूलाई संस्थागत गर्न सकिने भएकाले प्रत्यक्ष निर्वाचनमार्फत जनतामाझ जाने निर्णय गरिएको हो।
लिम्बुले देशको लोकतान्त्रिक अभ्यास अझ समावेशी र उत्तरदायी बन्न आवश्यक रहेको उल्लेख गर्दै सबै वर्ग, समुदाय र पहिचानको समान सहभागिता बिना लोकतन्त्र अधुरो रहने धारणा राखिन्। उनले मानव अधिकार, समान अवसर, सामाजिक न्याय र समावेशी नीतिनिर्माण आफ्नो प्रमुख एजेन्डा हुने स्पष्ट पारिन्।
उनले आफ्नो राजनीतिक यात्रामा साथ, समर्थन र विश्वास प्रदान गर्दै आएका नागरिक, अधिकारकर्मी, युवा, महिला तथा अल्पसंख्यक समुदायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग र समर्थनको अपेक्षा गरेकी छन्। साथै, समावेशी राजनीति र सामाजिक परिवर्तनमा विश्वास राख्ने सबैलाई आफ्नो उम्मेदवारीबारे सन्देश साझा गरी हौसला प्रदान गर्नसमेत उनले अनुरोध गरेकी छन्।
उनको उम्मेदवारीलाई मोरङ–४ मा सामाजिक न्याय, समावेशी प्रतिनिधित्व र लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाउने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

