गणेश जोशि कन्चनपुर बैतडी जिल्लामा यतिबेला सामाजिक सञ्जालमा एक भिडियो तीव्र रूपमा फैलिरहेको छ । उक्त भिडियोमा बैतडीबाट तीन पटक प्रतिनिधि सभा सदस्य निर्वाचित भइसकेका तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि नेकपा (एमाले) बाट उम्मेदवार बनेका दामोदर भण्डारी देखिन्छन् ।
भिडियो घरदैलो अभियानका क्रममा खिचिएको देखिन्छ । जहाँ भण्डारी स्थानीय नागरिकसँग संवाद गरिरहेका छन् । तर सो संवाद जनताको समस्या सुन्नेभन्दा पनि जनताको आवाज दबाउने शैलीमा सीमित भएको देखिएपछि भिडियोले व्यापक आलोचना खेपिरहेको छ ।भिडियोमा एक स्थानीय किसानले आफ्नो वडामा बाटोको सुविधा नभएको, उत्पादन गरेको तरकारी स्थानीय बजार सिल्लेगडा सम्म भारी बोकेर लैजानु पर्ने बाध्यता रहेको गुनासो गर्छन् ।
किसानका अनुसार बजार भाउ प्रतिकेजी ४० रुपैयाँ भए पनि आफूले ३० रुपैयाँ मात्रै पाउने र बजारमै किन्नुपर्दा ८० रुपैयाँ तिर्नुपर्ने अवस्था छ ।त्यसमाथि सिँचाइको सुविधा समेत नभएको पीडा उनले आफ्ना प्रतिनिधिसामु राख्छन् ।तर समस्या सुन्नु पर्ने प्रतिनिधिको भूमिकामा रहेका भण्डारी किसानको गुनासोप्रति संवेदनशील देखिँदैनन् ।
बरु भिडियोमा उनी किसानलाई “तपाईं चुप लाग्नु” भन्दै रोक्छन् । त्यसपछि स्थानीय भाषामा “पख भुण्याब, तम खालि यार ख्या खुँ गरिराखन्छौ” भन्दै किसानको कुरा बेवास्ता गर्छन् । यसको आशय “धेरै नबोल्नू” भन्ने रूपमा बुझिन्छ ।विडम्बनापूर्ण कुरा त के भने, किसानले आफ्नै खेतमा उत्पादन गरेको टमाटर बेच्न नपाएको गुनासो गरिरहँदा भण्डारीले भने धनगढीबाट आयातित टमाटर पाइरहेको तर्क प्रस्तुत गर्छन् ।
यसले स्थानीय उत्पादनप्रति राज्यको प्रतिनिधिको दृष्टिकोण के हो भन्ने गम्भीर प्रश्न उठाएको छ ।स्थानीय किसानहरूका अनुसार समस्या नयाँ होइन । वर्षौं देखि बाटो, सिँचाइ, बजार र मूल्यको समस्या उस्तै छ । तर पटक–पटक निर्वाचित भएका प्रतिनिधिबाट समाधानको साटो थप थर्काइ र बेवास्ता भोग्नु परेपछि जनआक्रोश बढ्दै गएको छ ।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नागरिकहरूले प्रश्न गरिरहेका छन् — “जनताले आफ्ना समस्या राख्न नपाउने प्रतिनिधि लोकतन्त्रको कसरी प्रतिनिधि हुन सक्छ?” “तीन पटक जितेका सांसदले किसानको पीडा सुन्न नसक्नु असफलता होइन र?”

