शनि, जेष्ठ २३, २०८३

निर्वाचनलाई लक्षित गर्दै प्रभावकारी सुरक्षा व्यवस्था गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन


काठमाडौं,नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले आगामी निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन सुदृढ सुरक्षा योजना तयार गरी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्।

नक्सालस्थित प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्यका माध्यममार्फत सम्बोधन गर्दै महानिरीक्षक कार्कीले निर्वाचनसँग सम्बन्धित सुरक्षा संवेदनशीलता तथा समसामयिक सुरक्षा चुनौतीहरूलाई ध्यानमा राखेर कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका हुन्।

उनले आ–आफ्नो कार्यक्षेत्रमा कुनै पनि किसिमका आपराधिक गतिविधि हुन नदिन सूचनाको प्रभावकारी संकलन गरी आवश्यक पूर्वतयारीसहित सुरक्षा व्यवस्थापन गर्न जोड दिए।प्रहरी प्रधान कार्यालयका अनुसार महानिरीक्षक कार्कीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउने, सीमानाकाबाट हुने अवैध गतिविधि तथा राजस्व चुहावट नियन्त्रण गर्ने, हातहतियार बरामद, ट्राफिक व्यवस्थापन सुदृढ गर्ने र फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदी र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले पनि फिल्डमा खटिने प्रहरी कर्मचारीहरूलाई परिस्थितिअनुसार लचिलो र जिम्मेवार भएर काम गर्न आग्रह गरे।

उक्त भर्चुअल कार्यक्रममा वरिष्ठ प्रहरी अधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सम्बन्धित समाचार