आइत, असार ७, २०८३

घुसुडि महोत्सव जुवाको अखडा


कञ्चनपुर ।महेन्द्रनगरस्थित खुल्ला मञ्चमा सञ्चालन भइरहेको घुसुडि महोत्सव पछिल्ला दिनहरूमा मनोरञ्जन र संस्कृतिको नाममा अवैध गतिविधिको अखडा बन्दै गएको स्थानीयले गुनासो गरेका छन्।

महोत्सव परिसरभित्र तथा आसपास खुलेआम जुवा जस्तै देखिने सट्टेबाजी, कौडा खेल र नगद हार–जित हुने गतिविधि भइरहेको भन्दै सर्वसाधारणले गम्भीर चिन्ता व्यक्त गरेका छन्।महोत्सवको मूल उद्देश्य कला, संस्कृति र स्थानीय उत्पादनको प्रवर्द्धन हुनुपर्ने भए पनि व्यवहारमा भने पैसा हार–जित हुने खेलहरू “मनोरञ्जन” को आवरणमा सञ्चालन भइरहेको स्थानीयको आरोप छ।

भीडको फाइदा उठाउँदै गैरकानुनी गतिविधि फस्टाएको र त्यसले समाजमा गलत सन्देश फैलाइरहेको उनीहरूको भनाइ छ।सबैभन्दा चिन्ताजनक पक्ष भनेको यस्ता गतिविधि भइरहँदा पनि सरोकारवाला निकाय मौन देखिनु हो। जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, प्रहरी प्रशासन तथा अन्य नियमनकारी निकायले देखेको नदेख्यै गरेको जस्तो व्यवहार गर्नुले गम्भीर प्रश्न उठेको छ।

स्थानीयबासीहरू प्रश्न गर्छन्—के यी गतिविधि निकायलाई थाहा छैन ?

कि थाहा भएर पनि चुप लागिएको हो ?

नेपालको कानुनले जुवा, सट्टेबाजी तथा नगद हार–जित हुने खेललाई स्पष्ट रूपमा प्रतिबन्ध गरेको छ। तर महोत्सवको नाममा यस्ता गतिविधि खुलेआम सञ्चालन भइरहँदा कानुनको कार्यान्वयनमाथि नै प्रश्न उठेको छ।

यदि महोत्सव परिसरभित्र अवैध गतिविधि भइरहेको हो भने आयोजक मात्र होइन, नियमन गर्ने निकाय पनि जवाफदेही हुनुपर्ने जानकारहरू बताउँछन्।यस्ता गतिविधितर्फ युवापुस्ता र विद्यार्थीहरू आकर्षित हुने जोखिम बढ्दो रहेको भन्दै अभिभावकहरू समेत चिन्तित छन्।

मनोरञ्जनका नाममा गलत संस्कार रोपिँदा त्यसको दीर्घकालीन असर समाजमै पर्ने उनीहरूको चेतावनी छ।स्थानीयको भनाइ छ,“यदि यही अवस्था रहिरह्यो भने घुसुणी महोत्सव संस्कृति संरक्षणको होइन, जुवा र अव्यवस्थाको प्रतीकका रूपमा चिनिनेछ।

”स्थानीयबासीहरूले महोत्सवभित्र सञ्चालन भइरहेका गतिविधिबारे स्पष्ट अनुगमन गर्न, नगद हार–जित हुने खेल तत्काल बन्द गर्न र आयोजकलाई सार्वजनिक रूपमा जवाफदेही बनाउन माग गरेका छन्।

कानुन सबैका लागि बराबर हुने भन्दै उनीहरूले अब ढिलाइ नगरी सम्बन्धित निकायले स्थलगत अनुगमन गरी अवैध गतिविधि रोक्नुपर्ने माग गरेका छन्।महोत्सव समाज सुधारका लागि हुनुपर्ने हो, समाज बिगार्ने अखडा बन्नका लागि होइन।

सम्बन्धित समाचार