शनि, जेष्ठ २३, २०८३

गौरीगंगामा ६८२ ग्राम चरेशसहित खुद्रा पसल सञ्चालक पक्राउ


कञ्चनपुर। जिल्ला कैलालीको गौरीगंगा नगरपालिका–१, लठैयामा प्रहरीले ६८२ ग्राम लागुऔषध चरेश जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा चौमाला इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक नवराज पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले लठैया बस्ने वर्ष ४६ का नन्दलाल उपाध्यायले सञ्चालन गर्दै आएको खुद्रा पसलमा खानतलासी गर्दा प्लास्टिकको डब्बाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा शुद्ध तौल ३३२ ग्राम चरेश जस्तो देखिने पदार्थ बरामद गरेको हो।

त्यसैगरी, पसलबाट करिब ६० मिटर दक्षिणतर्फ रहेको ऐ. स्थानकै रतनबहादुर बुढाको जग्गामा रहेको रुखमुनी लुकाइछिपाइ राखिएको अवस्थामा थप शुद्ध तौल ३५० ग्राम चरेश जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

बरामद गरिएको चरेशको कुल तौल ६८२ ग्राम रहेको छ।लागुऔषधसहित नन्दलाल उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा बुझाइएको छ।इलाका प्रहरी कार्यालय चौमालाको कमाण्ड सम्हालेको केही दिनमै प्र.ना.नि. नवराज पाण्डेको नेतृत्वमा उक्त सफलता प्राप्त भएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार