शनि, जेष्ठ २३, २०८३

आफ्नै वडाको विद्यालयलाई फाइदा? शिक्षक सरुवा काण्डमा गाउँपालिका नेतृत्व कटघरामा


महेन्द्रनगर । बेल्डाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र राना सहित कार्यपालिका सदस्य र कर्मचारीहरु सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्न गाडी बुकिङ्ग गरी काठमाडौं हिँडेका छन् ।

बेल्डाँडी गाउँपालिका २ स्थित रौलेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक कृपाराम उपाध्ययले सर्वोच्च अदालतमा दायर अदालतको अपहेलना मुद्दामा लिखित जवाफ पेश गर्न अध्यक्ष राना सहित सबै कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण बिक सहित कर्मचारी काठमाडौं गएका हुन् ।सर्वोच्च अदालतको संयुक्त इजलाशले पुस १ गते बेलडाँडी गाउँपालिकालाई अदालतको अपहेलना मुद्दामा ७ दिनभित्र आफंै उपस्थित भएर वा वारेश मार्फत लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।सर्वोच्चको आदेशपछि उनीहरु काठमाडौं हिँडेका छन् ।

गाउँपालिका कार्यालय स्रोतका अनुसार कार्य पालिका सदस्य बसन्ती सुनार जिल्ला बाहिर भएकाले उनी बाहेक सबै कार्यपालिका सदस्य काठमाडौं हिँडेका छन् ।बेल्डाँडी गाउँपालिका कार्यालयले दशैं विदा अघि गत असोज ९ गते शिक्षक दरबन्दी मिलान गरी रौलेश्वर माविका प्रधानाध्यापक उपाध्ययलाई सरुवा गरी गणेश मावि घुर्सवा सुरु गरेको थियो ।स्थायी दरबन्दीका उपाध्ययलाई सरुवा गरी उनको स्थानमा गणेश माविका राहत दरबन्दीका शिक्षकलाई रौलेश्वर सरुवा गरिएको थियो ।

गणेश मावि गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको वडाको विद्यालय हो ।गाउँपालिका अध्यक्ष हुन अघिसम्म राना आफैैं गणेश मावि घुर्सुवाका राहत शिक्षक थिए ।प्रधानाध्यापक उपाध्ययले गाउँपालिकाले असोज ९ गते गरेको शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वनयन नगरी बदरको माग राख्दै गाउँपालिका र गाउँपालिका कार्यालय विरुद्ध प्रशासकीय अदालत काठमाडौं मुद्दा दायर गरेका थिए ।

उपाध्ययको मुद्दामा प्रशासकीय अदालतले कार्तिक २७ गते निर्णय कार्यान्वयन नगर्न अन्तरकालिन आदेश दिएको थियो । गाउँपालिकाले त्यस आदेश विपरित निर्णय कार्यान्वयन अघि बढाएर शिक्षक पदस्थापन गरेपछि उनी अदालतको अपेहलना मुद्दामा सर्वोच्च पुगेका हुन् ।सर्वोच्च अदालतका न्यायाधिशद्वय मनोज कुमार शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलाशले लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

‘निवेदकको माग बमोजिम सजाय किन हुन नपर्ने हो, सजाय हुनु नपर्ने कुनै आधार कारण भए सबुद प्रमाण सहित म्याद सूचना पाएको मितिले बाटाका म्याद बाहेक ७ दिनभित्र आफैं वा प्रतिनिधि मार्फत लिखित जवाफ पेश गर्न आदेश भएको जानकारी गराइन्छ’ आदेशमा भनिएको छ ।

प्रशासकीय अदालतले शिक्षक दरबन्दी मिलान निर्णय कार्यान्वयन नगर्ने निर्णय भएको जानकारी सहितको पत्र कार्तिक २८ गते शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरलाई पठाएको थियो ।इकाईले बेल्डाँडी गाउँपालिकालाई प्रशासनिक अदालतको भएको निर्णय सहित मंसिर १७ गते पत्र पठाएको थियो ।गाउँपालिका अध्यक्ष एबम् गाउँपालिका शिक्षा समितिले गलत नियत राखेर दशैं विदा अघि शिक्षक दरबन्दी मिलान गरिएको निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष शान्ति नाथले प्रमुख प्रशासकीय अधिकृत विकलाई निवेदन दिएकी थिइन् ।

उपाध्यक्ष नाथ दशैैं पूजापाठका लागि पुख्र्यौली गाउँ हिँडेपछि गाउँ कार्यपालिका बैठकबाट शिक्षक दरबन्दी मिलानको निर्णय गरिएको थियो ।बेलडाडी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भानुभक्त जोशीले अध्यक्ष सहित कार्यपालिका सदस्य र कर्मचारी काठमार्डौं हिँडेकोबारे आफूलाई जानकारी नभएको बताए ।उनले प्रमुख प्रशासकीय अधिकृत बिक भने धनगढी तालिममा भएको जनाए ।

‘अरु कहाँ हुनु हुन्छ थाह छैन, हाकिम साप चाहिँ धनगढी तालिममा हुनु हुन्छ, म तालिममा छु भनेर मलाई निमित्त दिइएको हो’ उनले भने ।गाउँपालिकाको गाडी भने कार्यालयमा नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । यस सम्बन्धि जानकारीका लागि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकलाई फोन सम्पर्क गर्दा उनले फोन रिसिभ गरेन ।

सम्बन्धित समाचार