शनि, जेष्ठ २३, २०८३

पत्रकार महासंघ कञ्चनपुरले अध्यक्ष धामिको उपचारार्थ जारी आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिने


कञ्चनपुर, २०८२ पुस १८ — नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको नियमित मासिक बैठक सम्पन्न भएको छ।

अध्यक्ष श्री सुरेश सिंह धामीको अध्यक्षतामा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।बैठकले अध्यक्ष धामीलाई देखिएको क्यान्सर संक्रमणपछि उपचारका लागि अहिलेसम्म सहयोग प्रदान गर्ने सबै सहयोगी, दाता, पत्रकार, शुभेच्छुक र शुभचिन्तकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।

साथै अध्यक्ष धामीको स्वास्थ्य उपचार लामो समयसम्म जारी राख्नु पर्ने भएकाले थप आर्थिक रकम आवश्यक परेको बताउँदै आर्थिक सहयोग प्रदान गरिदिन सबैमा हार्दिक आग्रह गरिएको छ।

यसैक्रममा आर्थिक सहयोग संकलन अभियानलाई निरन्तरता दिने निर्णय गरिएको छ।त्यसैगरी, महासंघ कञ्चनपुर शाखाले वार्षिक स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ। संगठनभित्र सदस्यता नवीकरणको कार्यलाई थप व्यवस्थित बनाउन नवीकरण फाराम तथा सदस्यता परिचयपत्रको व्यवस्था मिलाउने निर्णय पनि बैठकले गरेको छ।जिल्लाका सम्पूर्ण सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिता कडाइका साथ पालना गर्न तथा गराउन आग्रह गर्दै बैठक सम्पन्न भएको थियो।यसैबीच, उपचारका क्रममा आर्थिक तथा नैतिक साथ–सहयोग प्रदान गर्ने सबैप्रति अध्यक्ष धामीले व्यक्तिगत रूपमा आभार प्रकट गर्नु भएको छ।

सम्बन्धित समाचार