शनि, जेष्ठ २३, २०८३

पैसा असुली र कमिसनको आरोपपछि कञ्चनपुर कारागारमा झडप


कञ्चनपुर, कञ्चनपुर कारागारमा कैदीबन्दीका दुई समूहबिच झडप भएको छ। शुक्रबार दिउँसो नाइके चौकीदार र अन्य कैदीबन्दीबिच झडप हुँदा आठ कैदीबन्दी घाइते भएका छन्।

घाइते भएका कैदीबन्दी किरणबहादुर सिंह, करन कुँवर, दिनेश कुँवर, राजेन्द्र सुनार, रोशन शाही, मदन गिरी, सन्दीप भण्डारी, जनक खडकाको महाकाली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाश मल्ल नेतृत्वको नाइके चौकीदारहरुविरुद्ध अन्य कैदीबन्दीहरुले सरकारले दिने दुई सिजनको कपडाको रकम दुरुपयोग गरेको, राशनमा पनि विभेद गरेको, कारागारभित्रै मदिरा, लागुऔषधजस्ता गैरकानुनी कारोबार गरेको, घरबाट आउने सामानसमेत पूरै हातमा नपुग्ने गरेको, आफूनिकटलाई मात्रै सेवा सुविधा दिएको जस्ता आरोप लगाएर नाराबाजी गरेका थिए।

कैदीबन्दीहरुले नाराबाजी गर्दै नाइके, चौकीदारमाथि कानुनी कार्बाही र सरुवाको माग गरेका छन्।

कञ्चनपुरका प्रहरी प्रवक्ता सागर बोहराले कैदीबन्दीहरुबिच सेवा सुविधामा विभेद भएको भन्दै भएको विवाद झडपमा परिणत भएको बताए।

उपचारका लागि अस्पताल पुगेका सबै कैदीबन्दीको उपचार भइरहेको र उनीहरु खतरामुक्त रहेको उनले जानकारी दिए।

चौकीदार, नाइकेहरुले अन्य कैैदीबन्दीबाट अनावश्यक रकम लिएको भन्दै विवाद उत्पन्न भएको जेलर बन्दना सुवेदीले बताइन्।

आफू कार्यालयमा १५ दिनअघि मात्रै आएको बताउँदै उनले आरोपहरुबारे बुझ्ने प्रतिक्रिया दिइन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले कारागारमा उत्पन्न विवादबारे सम्बन्धित पक्षसँग समन्वय गरेर विवाद निरुपण गरिने बताए। हाल कञ्चनपुर कारागारमा १६ महिलासहित ३४६ कैदीबन्दी छन्।

सम्बन्धित समाचार