कञ्चनपुर, मंसिर २६ नेकपा एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका दाबेदार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी ओलीले आफूबाहेक अरू कसैको नाम अध्यक्षमा प्रस्ताव गरे सहमति हुन सक्ने बताएका छन् ।
महाधिवेशनका सन्दर्भमा आफ्नो समूहले गरेको तयारीबारे बुधबार सम्पादकहरूलाई जानकारी गराउँदै पोखरेलले ओलीका नाममा भने सर्वसम्मत हुनै नसक्ने स्पष्ट पारे । शनिबारदेखि एमाले महाधिवेशन सुरु हुँदै छ । ‘अहिलेको सन्दर्भमा पार्टी अध्यक्ष केपी ओलीले म अभिभावकीय भूमिकामा बस्छु र महाधिवेशन हलमा अबको नेतृत्व फलानो हो भनेर औपचारिक ढंगले भन्नुभयो मात्र सहमति हुन्छ ।
नत्र अरू हिसाबमा सहमति हुन्छ जस्तो लाग्दैन,’ पोखरेलले भने । उनले नेतृत्व हस्तान्तरणका लागि ओलीले नेतृत्वको दाबीबाट पछि हट्नुपर्ने पनि बताए । अन्तरसंवादमा सम्पादकहरूले नेतृत्वमा सर्वसम्मतिको सम्भावना, सम्भावित परिणाम, एमालेभित्रको आन्तरिक लोकतन्त्रको अवस्था, एमालेको अबको एजेन्डा, जेन–जी आन्दोलनलाई हेर्ने दृष्टिकोणलगायत विविध विषयमा जिज्ञासा राखेका थिए । दुई घण्टा लामो अन्तक्र्रियामा पोखरेलले सबै प्रश्नको पालैपालो जवाफ दिएका थिए ।
पोखरेलले ओलीसँगको प्रतिस्पर्धाबाट आउने परिणाम जस्तो रहे पनि स्विकार्ने प्रस्ट्याए । स्वस्थ प्रतिस्पर्धाबाट आउने परिणाम प्रतिकूल भए पनि ओलीले स्वीकार गर्नुपर्ने उनको भनाइ थियो । चुनावमा पराजित भए पोखरेलसहित उनलाई साथ दिने नेता भीम रावल र माधव नेपालजस्तै पलायन हुन सक्ने भन्दै ओलीले गरेको कटाक्षबारे पनि पोखरेलले जवाफ दिए । ‘प्रतिस्पर्धा गरिन्छ भने त्यसको परिणाम स्विकारिन्छ भन्नेमा हामी दृढतापूर्वक उभिन्छौँ ।
प्रतिस्पर्धामा जानेहरूले जित्दा मात्रै खुसी होइन, जित्न नसक्दा पनि त्यसलाई स्वीकार गर्न सक्नुपर्छ भन्ने मानसिकता बनाउनुपर्छ भन्नेमा हामी सचेत छौँ,’ पोखरेलले भने, ‘त्यसकारण यसमा भीम रावल र माधव नेपालजीको जस्तो दृष्टान्त हाम्रो हकमा लागू हुँदैन । हामीमा प्रतिस्पर्धा गरेर विजयी हुन्छौँ भन्ने विश्वास छ । विजयी नभए पनि एमालेको एमाले भएर रहिरहन्छौँ । यसमा किञ्चित तलमाथि हुँदैन ।’उनले संकीर्णता हटाएर वाम तालमेलका लागि ढोका खुलै राख्ने नीतिसहित अगाडि बढ्नुपर्ने बताए ।
‘हामी वाम तालमेल गर्न चाहनेलाई स्वागत गर्छौँ, संकीर्णता राख्दैनौँ,’ उनले भने । पोखरेलले आफूले पार्टी बैठकमा औपचारिक जानकारी गराएर विधिसम्मत ढंगले नै एघारौँ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिन लागेको बताए ।
त्यस्तै, फरक मतका विषयमा पनि अध्यक्ष ओलीलाई टेलिफोनमा औपचारिक कुराकानी गरेरै पार्टी कार्यालयमा महासचिव शंकर पोखरेललाई भेटेर दर्ता गराएको उनको भनाइ थियो । ‘उम्मेदवारी कुनै झ्वाँकमा गरेको विषय होइन । पार्टीको बैठकमा औपचारिक रूपमा जानकारी गराएको हो । र, पार्टी अध्यक्षसँग कुरा गरेर अवधारणालाई पार्टी केन्द्रीय कार्यालयमा औपचारिक रूपमा दर्ता गरेको हो ।
यसरी हामी विधिसम्मत ढंगले जान चाहन्छौँ,’ पोखरेलले भने । लोकतान्त्रीकरण पार्टीभित्रको धेरै महत्वपूर्ण मुद्दा भएकाले सामूहिक नेतृत्व प्रणालीविना कम्युनिस्ट पार्टी मात्र होइन, कुनै पनि पार्टी चल्न नसक्ने पोखरेलको भनाइ छ । अन्तरसंवादमा पोखरेलसहित उनलाई समर्थन गर्ने उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य तथा सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टसहितका नेता सहभागी थिए ।
अध्यक्षका दाबेदार ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले जेन–जी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगमा गएर बयान दिनु नै उपयुक्त हुने बताएका छन् । आयोगको औचित्यमाथि प्रश्न उठाउँदै ओलीले बयान दिन आनकानी गरिरहेका वेला पार्टीको एउटा समूहका प्रभावशाली नेताले बयान दिन सुझाएका हुन् ।
यसअघि पोखरेलले नयाँ जनादेशमार्फत अहिलेको राजनीतिक संकटलाई लिकमा ल्याउने विकल्प अगाडि सारेर संसद् पुनस्र्थापनाको एजेन्डा अगाडि बढाएका ओलीमाथि दबाब बनाएका छन् ।‘सरकारले बनाएको आयोगबारे हाम्रा कतिपय रिजर्भेसेन छन् होला । तर, आयोगले बोलाउने कुरा स्वाभाविक छ । मचाहिँ भए अझै अगाडि गएर बयान दिन्थेँ । त्यसप्रति अवज्ञा गर्ने कुराले राम्रो गर्दैन,’ पोखरेलले भने ।
पहिल्यै आग्रह राखेर निष्कर्ष निकालेको व्यक्तिलाई नै आयोगको अध्यक्ष बनाइएको र उनकै नेतृत्वको आयोगले बयानका लागि बोलाउँदा आशंका स्वाभाविक भए पनि त्यहाँ गएर तथ्य विवरण दिएर वास्तविक घटनाबारे जानकारी दिई सहयोग गर्न सकिने उनको जिकिर थियो । ‘आयोगको अध्यक्षले २३ र २४ भदौको आन्दोलनपछि एउटा मान्यताका आधारमा आफूलाई उभ्याउनुभयो ।
अब तिनै व्यक्ति आयोगका अध्यक्ष हुँदा निष्पक्ष कसरी हुन्छ भन्ने प्रश्न छ,’ उनले भने, ‘तर, बयान दिन जाने, भन्न जाने, विचार भन्ने र तथ्य प्रस्तुत गर्ने कुरालाई अन्यथा लिन हुँदैन । हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ ।’नेपाल कम्युनिस्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने दुई हजार चार सय ६३ प्रतिनिधिको टुंगो लागेको छ।
प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहने गरी टुंग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले बताए । उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ। उक्त संख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन ।

