बुध, बैशाख २३, २०८३

पुर्व प्रधानमन्त्री ओलीले शिलान्यास गरेको दैजीछेला औद्योगिक क्षेत्र अलपत्र


कञ्चनपुर, मंसिर २४ भोगाधिकार बिनै हतारहतारमा शिलान्यास गरिएको कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्रको काम अलपत्र गरेको छ ।

१०फागुन ०७७सालमा तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रकोे शिलान्यास गरेका थिए । वेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण अलपत्र परेको हो।

छेला औद्योगिक क्षेत्र स्थापनाका लागि झन्डै २५ हजार रुख कटान गर्नुपर्ने वन मन्त्रालयले जनाएको छ। वेदकोट नगरपालिका–२ का अध्यक्ष नरेशबहादुर सिंहले रुख कटानको अनुमति प्राप्त नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम भने अलपत्र परेको बताए।

औद्योगिक क्षेत्र विस्तारका लागि रुख गणनाको कामपछि छपानको काम सकिएको उनले बताए। डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी सुवास कुँवरले औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक पर्ने रुख कटानका लागि रायसुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको बताए।

नापी कार्यालयले चार किल्ला प्रमाणित गरेर १३६.५९ हेक्टर वनक्षेत्रमा औद्योगिक क्षेत्र विस्तारका लागि यसअघि नै सिफारिस गरिसकेको जनाएको छ। सरकारले ०७२ सालमा मा मन्त्रीपरिषद् बैठकले दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेको थियो। जेनजी आन्दोलनपछि यहाँ औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको वडाध्यक्ष सिंहले बताए।

यसका लागि मन्त्रीपरिषद् बैठकले निर्णय गर्नुपर्ने उनले जानकारी दिए। औद्योगिक क्षेत्र निर्माण अघि बढ्न नसके पनि पहुँच मार्गमा कालोपत्रेको काम भने अन्तिम चरणमा पुगेको छ। सङ्घीय सरकारको समपूरक अनुदान र बेदकोट नगरपालिकाको गरी सात करोड लागतमा छेला औद्योगिक क्षेत्रको पहुँच मार्गमा कालोपत्रेको काम भइरहेको वेदकोट नगरप्रमुख भोजराज बोहोराले बताए।

हाल ३.५ किलोमिटर कालोपत्रेको काम भइरहेको र बाँकी दुई किलोमिटरमा कालोपत्रेको कामलगत्तै प्रक्रियामा जाने उनले बताए। हाल पहुँच मार्ग निर्माण अन्तिम चरणमा रहेको निर्माण व्यवसायी भागेश्वर न्यु उग्रतारा शिव शङ्कर जेभीका सञ्चालक ब्रिज चन्दले बताए। उनका अनुसार हाल ६० प्रतिशत कालोपत्रेको काम सकिएको छ। अबको दुई महिनाभित्रै पहुँच मार्गको काम सकिने उनले बताए।

पहुँच मार्ग निर्माणले तीव्रता पाए पनि औद्योगिक क्षेत्र विस्तारको काम भने अगाडि नबढ्दा यहाँका स्थानीय निराश छन्। औद्योगिक क्षेत्र निर्माण गरिए १० औँ हजार नागरिकले क्षमता अनुसारको रोजगारी पाउने अपेक्षा गरिएको छ ।

कञ्चनपुर आउने मन्त्रीहरूलाई यस क्षेत्रको पटक अवलोकन गराए पनि निर्माण अगाडि बढ्न नसकेको उनले बताए। यसरी औद्योगिक क्षेत्रको शिलान्यास गरेर अलपत्र परेपछि नागरिक हैरान भएका छन ।

सम्बन्धित समाचार