शनि, जेष्ठ २३, २०८३

समृद्धि यात्रामा भीमदत्त, भौतिक पूर्वाधार बिस्तार तीव्र



कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका भौतिक पूर्वाधार निर्माणमा अब्बल देखिन थालेको छ । पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा नगरपालिका भौतिक पूर्वाधार निर्माणका धेरै सूचकमा प्रगतिउन्मुख देखिन्छ ।
नगरपालिकामा आर्थिक वर्ष २०७६÷७७ सम्म ९५ किलोमिटर कालोपत्रे÷पक्की सडक रहेकामा आव २०८१÷८२ मा आइपुग्दा ४५० किलोमिटर कालोपत्र भइसकेको छ । आव २०७६÷७७ मा ग्राभेल सडक ३०५ किलोमिटर रहेकामा अहिले २०० किलोमिटरमा मात्रै छ । सो वर्ष १६१ किलोमिटर रहेको कच्ची सडक अहिले १५० किलोमिटर रहेको नगरपालिकाको तथयांक छ ।
यस नगरपालिकामा १०० प्रतिशत नागरिकसम्म खानेपानी सेवा पुगेको तथ्यांक छ । १ हजार २३०.२८ किलोमिटर ढलान पाइपलाइन जडान गर्दै नगरले आधारभूत सेवा प्रवाहलाई मजबुत बनाएको देखिएको छ । सो वर्षसम्म विद्युत् सेवा ९५.७५ प्रतिशत जनताले उपयोग गर्दै आएका थिए । अहिले शतप्रतिशत घरमा विदुत सेवा पुगेको तथ्यांक छ । टेलिफोन लाइन र इन्टरनेट सेवा प्रदायकको उपस्थिति समेत यस नगरपालिकामा अब्बल देखिएको छ । अहिले नगरपालिकाका सबै वडाका आफ्नै कार्यालय बनेका छन् ।

नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा मात्र ७९० मिटर सुदृढित ढलान (आरसिसि)सडक, ५,८४२ मिटर कालोपत्रे तथा ग्राभेल मिसाइएको मर्मत सडक, ९५० मिटर नयाँ सडक ट्र्याक, १६,२४० मिटर ग्राभेल बिछ्याइ तथा ८,८०८ मिटर सडक मर्मत सम्पन्न गरेको जनाएको छ । २०७६÷७७ मा सडक निर्माणले पाएको आधार आज थप विस्तार र गुणस्तरीय संरचना निर्माणमार्फत अझ मजबुत बन्दै गएको नगरपालिको भनाई छ । सडकसँगै नाला निर्माण, पर्खाल, बर्खा–पानी व्यवस्थापन संरचना, तारबार, पदमार्ग तथा चौतारो जस्ता सामुदायिक पूर्वाधारमा समेत उल्लेखनीय प्रगति देखिएको छ । चालु वर्षमा मात्रै ३०७ थान पानी पाइप जडान, १५७ थान सौर्य बत्ती जडान,४,३३३ मिटर तार जाली घेरावार निर्माण तथा ४२३ मिटर समथर पर्खाल (रिटेनिङ वाल) निर्माण भएको तथ्यांकमा देखिन्छ ।

त्यसैगरी खेलमैदान निर्माण, गेट निर्माण, बसपार्क मर्मत तथा स्तरोन्नति, सार्वजनिक शौचालय निर्माण–मर्मत, सिँचाइ बोरिङ, विद्यालय भवनको निर्माण–मर्मत, मन्दिर–गुम्बा संरक्षणदेखि धार्मिक संरचनाहरूको सुधारसम्मका कामहरू समग्र पूर्वाधार बलियो बनाउन योगदान पु¥याएका छन् । गौशाला व्यवस्थापन, घेराबार तथा झोलुंगे पुल निर्माण, साइकल मार्ग, पार्किङ स्थल निर्माण, सामुदायिक प्रयोजनका सामग्री खरिद तथा सार्वजनिक भवनको स्तरोन्नतिमा पनि नगरले लगानी गर्दै आएको छ । २०८१÷८२ मा ३१ भन्दा बढी विकास योजनाहरू स्थानीय आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरी कार्यान्वयन गरिएको नगरपालिकाले जनाएको छ।

भीमदत्त नगरपालिका स्थानीय तह बनेसँगै भौतिक पूर्वाधार विकासमा उल्लेख्य प्रगति भएको नगर इन्जिनियर हिमालय सिंह ऐर बताउँछन् । उनका अनुसार, स्थानीय तहका रूपमा पुनर्संरचना हुनु अघि सडक विकासका लागि पहिले वार्षिक करिब २–३ करोड रुपैयाँ मात्र बजेट हुने गथ्र्यो । अहिले तहमार्फत भौतिक पूर्वाधार विकासमा वार्षिक १० करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन हुँदै आएको छ । जसले विकासको गति तीव्र बनाएको उनको भनाई छ । सडक विस्तार तथा सुधारसँगै नगरको समग्र यातायात सुविधा र दैनिक जीवनस्तरमा सकारात्मक परिवर्तन देखिन थालेको उनले बताए ।

भीमदत्त नगरपालिकाका योजना अधिकृत पुष्पराज भट्टले २०७४ भन्दा पछि भौतिक पूर्वाधार शीर्षकमा आउने बजेट बढ्दै गएको बताउँछन् । प्रदेश, संघीय मन्त्रालय र पालिकाले विकास निर्माणमा बजेट राख्दा भौतिक पूर्वाधारमा विकास तिव्र बनेको उनको भनाई छ । उनका अनुसार पहिले नगरपालिकाको आफ्नै छुट्टै भवन थिएन, वडाका कर्मचारी नगरपालिकामा बसेर काम गर्थे, तर अहिले स्थानिय तह भैसकेपछि भीमदत्त नगरपालिकाका १९ वटै वडामा वडा कार्यालय भवन निमार्ण बनेको छ । वडा स्वास्थ्य कार्यालय विस्थापित भएका छन् । जसको लागी २–३ करोड बजेट छुट्टाएर भवन निमार्ण गरिएको उनले जानकारी दिए । ‘वडाका वासिन्दाहरु अहिले आफ्नो वडामा बनेको भवनबाट सेवा लिरहेका छन्,’ उनले भने ।

भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले भीमदत्त नगरपालिकामा विगत र आजको तुलनामा ठूलो अन्तर देखिने बताउँछिन् । बिकासका सूचकमा सकारात्मक बिस्तारसँगै गुणस्तर र पहुँच दुवैमा सुधार भएको उनको दावि छ । विगतमा सडक नेटवर्कको आधार तयार गरिएको थियो, अहिले त्यही संरचना पक्की, ग्राभेल बिछ्याइ, कच्ची सडक मर्मत, नयाँ ट्र्याक र सुरक्षात्मक संरचनासहित मजबुत हुँदै गएको उनको भनाई छ । पानी–पाइप, सौर्य बत्ती, जाली–वार, रिटेनिङ वालजस्ता भौतिक कामका आधारमा स्थानीय तहले प्राथमिकता सही क्षेत्रमा केन्द्रित भएको उनी बताउँछिन् । उनी भन्छिन् ‘यस्तो प्रगति सामान्य वृद्धि होइन, यो निरन्तर लगानी, योजनागत स्पष्टता र स्थानीय आवश्यकतामा आधारित पूर्वाधार नीतिको परिणाम हो ।’

भीमदत्त नगरपालिकाका स्थानिय तह अघिको आधारभूत संरचना विस्तारदेखि आजको सेवामुखी र दीगो पूर्वाधार विकाससम्म भीमदत्त नगरपालिकाले देखाएको निरन्तरता विकसित नगरको रूपमा संकेत देखिएको भीमदत्त नगरपालिकाका प्रवक्ता पदमराज अवस्थी बताउँछन् । उनले भने, ‘विगतमा सडक, खानेपानी र विद्युत् जस्ता आधारभूत पूर्वाधार विस्तार गरेर मजबूत आधार तयार गरेका थिए । अहिले सोही आधारमा विकासका काम अगाडी बढेका छन् । उनका अनुसार २०८१÷८२ मा नगरपालिकामा २ अर्ब भन्दा बढि विनियोजन भएको थियो । सडक विस्तार, ढल, ग्राभेल बिछ्याइ, नाला–पर्खाल निर्माणदेखि लिएर सौर्य बत्ती, पाइप जडान र सामुदायिक संरचनासम्म काम व्यापक रूपमा अघि बढेको छ । उनले भनmे ‘हामीले धेरै योजनालाई स्थानीय आवश्यकताका आधारमा प्राथमिकता दिएर सम्पन्न गरेका छौँ, जसले नगर विकासको गतिलाई नयाँ स्तरमा पु¥याएको छ ।’ आगामी वर्षमा नागरिकले प्रत्यक्ष महसुस गर्ने योजना र दीगो पूर्वाधार विकासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता नगरपालिकाले लिएको उनको भनाई छ ।

भीमदत्त–१८ का वडाअध्यक्ष रविन्द्रप्रसाद देवकोटाले देशमा २०७४ सालपछि संघियता आएसंगै स्थानिय तहमा विकासको क्रम तिव्र बनेको बताए । उनले भने, अहिले आन्तरिक राजस्व संकलन वृद्धिले गर्दा नगरपालिकाको भौतिक पूर्वाधार विस्तारमा तीव्रता देखिएको छ ’ उनका अनुसार पहिले आम जनता सुविधा अभाव महसुस गर्थे । अहिले गुणस्तरीय पूर्वाधार बिस्तारमा चासो राख्न थालेका छन् । ‘यो परिवर्तन जनताको सक्रिय सहभागिता र निरन्तर लगानीकै परिणाम हो, र आगामी वर्षमा अझ प्रभावकारी योजना, गुणस्तरीय निर्माण,व्यवस्थित र स्थायी विकासका लागि हामी अझ जिम्मेवारीपूर्वक अघि बढ्नेछौँ,’ उनले भने ।

भीमदत्त नगरपालिकाका स्थानीय बासिन्दा महेश जोशीका अनुसार पहिले टोलमा सडक नहुँदा बिहान–साँझ हिँडडुल गर्न कठिन थियो । वर्षामा पानी जम्थ्यो, बालबालिकालाई विद्यालय जानसमेत समस्या थियो । अहिले धेरै सुधार आएको अनुभूति उनको छ ।

सम्बन्धित समाचार