काठमाडौं । अहिले पाकिस्तानमा इमरान खानको स्वास्थ्यलाई लिएर ठूलो तनावको वातावरण छ । स्थानीय रिपोर्टहरूका अनुसार, व्यापक विरोध प्रदर्शनपछि सरकारले इमरान खानकी एक बहिनीलाई उनलाई भेट्न अनुमति दिएको छ ।
यसपछि अब इमरान खानको स्वास्थ्यबारे चलिरहेको सस्पेन्स अन्त्य हुने बताइएको छ ।इस्लामाबाद उच्च अदालतबाहिर पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का कार्यकर्ता, सांसद र नेताहरूको ठूलो भीड जम्मा भई सरकारको विरुद्ध नारा लगाइरहेका थिए । एक पीटीआई प्रदर्शनकारीले भने, “यो सरकार अब सुत्न सक्दैन ।
हामी इमरान खानलाई रिहा गराउँछौँ । जबसम्म इमरान खानका बहिनीहरूलाई भेट्न अनुमति दिइँदैन, हामी यहीँ बसिरहनेछौँ ।”पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान कहाँ छन् ? उनी जीवित छन् कि छैनन् ? भन्ने विषयले पाकिस्तानमा व्यापक तनाव बढाइरहेको थियो । नोभेम्बर ४ पछि परिवारका कुनै सदस्य वा उनका वकिलहरूले खानलाई अदियाला जेलमा भेट्न पाएका थिएनन् ।
यही कारण मंगलबार इस्लामाबाद उच्च अदालत र रावलपिण्डीको अदियाला जेलबाहिर इमरान खानका बहिनीहरू र समर्थकहरूले ठूलो विरोध प्रदर्शन गरे । अदालतको आदेश हुँदाहुँदै पनि इमरान खानलाई उनका बहिनीहरू र वकिललाई भेट्न दिइएको थिएन ।यसैबीच, अदियाला जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानलाई मंगलबार उनकी बहिनीलाई भेट्न अनुमति दिइएको छ । जेलबाहिर भएको ठूलो हो–हल्ला र प्रदर्शनबीच बहिनीलाई जेलभित्र बोलाइएको हो ।यसअघि, इमरान खानका छोराले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा उनका बुबाको हत्या भएको हुन सक्ने दाबी गरेका थिए ।
यही कारण सरकारले कसैलाई पनि भेट्न नदिइरहेको उनले बताएका थिए । बितेका केही दिनदेखि इमरान खानको कुनै तस्बिर सार्वजनिक भएको छैन ।रावलपिण्डी र इस्लामाबादमा ठूलो संख्यामा जनता सडकमा उत्रिएपछि प्रदर्शनलाई नियन्त्रणमा लिन पाकिस्तानी प्रशासनले रावलपिण्डीमा धारा १४४ लागू गरेको थियो र सबै प्रकारका सभा, जुलुसमाथि पूर्ण रूपमा प्रतिबन्ध लगाएको थियो ।
खैबर पख्तुनख्वामा इमरानको पार्टीको सरकार बर्खास्त हुन सक्छ ?पूर्वप्रधानमन्त्रीलाई लिएर चलिरहेका विरोध प्रदर्शनकै बीच, खैबर पख्तुनख्वा राज्यमा इमरान खानको पार्टी नेतृत्वको प्रदेश सरकार बर्खास्त गरी राज्यपाल शासन लागू गर्न सकिने चर्चाले पाकिस्तानी मिडियामा व्यापक स्थान पाएको छ ।खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफरीदी इमरान खानलाई रिहा गर्न माग गर्दै जोडदार रूपमा आफ्नो आवाज उठाइरहेका छन् ।

