सोम, जेष्ठ २५, २०८३

सुदूरपश्चिमका सांसदलाई ४७ लाख खर्चेर नयाँ ल्यापटप दिने तयारी


धनगढी । सुदूरपश्चिम प्रदेश सभाका सदस्यलाई नयाँ ल्यापटप दिने तयारी थालिएको छ । प्रदेश सभा सचिवालयले नयाँ ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको हो ।

सचिवालयले सांसदहरूका लागि अघिल्लो कार्यकालमा खरिद गरेको ल्यापटप काम नलाग्ने भन्दै गोदाममै थन्क्याएर नयाँ ल्यापटप खरिद गर्न लागेको हो ।

‘आर्थिक मामिला मन्त्रालयले नै बजेट विनियोजन गरिसकेको छ । हाल खरिदका लागि टेण्डर आह्वान गरिसकेका छौँ’, प्रदेश सभा सचिव देवबहादुर बोगटीले भने, ‘पुराना ल्यापटप कामै नलाग्ने भइसकेकाले पनि नयाँ खरिद गर्न लागेका हौँ ।’

५३ जना प्रदेश सभा सदस्यमध्ये १० मन्त्री र पदाधिकारी भइसकेकाले बाँकी ४३ जना सांसदका लागि ल्यापटप खरिद गर्न लागेको सचिवालयले जनाएको छ । जसका लागि ४७ लाख रुपैयाँ लाग्ने बताइएको छ । प्रति ल्यापटपमा एक लाख रुपैयाँभन्दा बढी खर्च गर्न लागिएको हो ।

प्रदेश सभाको अघिल्लो कार्यकालमा प्रदेश सभा सचिवालयले २७ लाख खर्च गरेर सांसदका लागि ल्यापटप खरिद गरेको थियो । कार्यकाल सकेर सांसदले फिर्ता बुझाएका ती ल्यापटपलाई अहिले ‘कवाडी’ भन्दै थन्क्याएर नयाँ खरिद गर्न लागिएको हो ।

सम्बन्धित समाचार

Leave a Reply