आइत, जेष्ठ २४, २०८३

सिद्धचोकमा १४ दिने रामलीला आज भव्य समारोहका बीच समापन हुँदै


बेलडाँडी । बेलडाँडी गाउँपालिका-१ स्थित सिद्धचोकमा सिद्धनाथ रामलीला समितिको आयोजनामा चलेको १४ दिने रामलीला आज विशेष समारोहका बीच समापन हुँदैछ । कार्तिक १५ गतेदेखि निरन्तर मञ्चन भइरहेको यो धार्मिक-सांस्कृतिक कार्यक्रमले अग्रजको सम्मान, धर्मप्रति आस्था र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान गरेको समितिका अध्यक्ष श्यामबहादुर रावलले बताएका छन् ।

अध्यक्ष रावलका अनुसार रामलीलाले समुदायमा भाइचाराको सम्बन्ध मजबुत पार्नुका साथै सामाजिक सद्भाव फैलाउन भूमिका खेलेको छ ।“भवगान रामको आदर्श जीवन, सत्य र धर्मप्रति समर्पणले अहिलेका पुस्तालाई मार्गदर्शन गर्छ,” उनले भने, “यो लीलाले युवाहरूलाई कुलतमा फस्नबाट बचाउने नैतिक प्रेरणा दिएको छ ।”उनका अनुसार लागुऔषध दुरुपयोगजस्ता समस्यामा तानिँदै गएका युवालाई रामलीलाजस्ता कार्यक्रमले सकारात्मक बाटो देखाउने र समाजमा अनुशासित जीवनबारे सन्देश दिने अपेक्षा गरिएको छ ।

रामलीलामा कञ्चनपुरको दक्षिणी क्षेत्रका चारै पालिकाबाट भक्तजनहरूको उल्लेख्य सहभागिता रह्यो । धार्मिक उत्साह, धेरैको लागि परिवारसहितको भेटघाट, र स्थानीय सांस्कृतिक प्रदर्शनले सिद्धचोक १४ दिनसम्म उत्सवमय बनेको थियो ।यो रामलीला छैटौँ पटक आयोजना गरिएको समितिले जनाएको छ ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था र स्थानीय समुदायप्रति आभार प्रकट गर्दै अध्यक्ष रावलले आज हुने रावण वध-धर्मको विजय र अधर्मको पतनको प्रतीक दृश्य अवलोकन गर्न सबै श्रद्धालु भक्तजनलाई सहभागी हुन आग्रह गरेका छन् ।“भवगान रामको चरित्रले सिकाउँछ, सत्य र धर्मको बाटो कठिन भए पनि अन्तिम विजय त्यहीँको हुन्छ । यही प्रेरणाले यो वर्षको रामलीला अझ अर्थपूर्ण बनाएको छ ।

सम्बन्धित समाचार