नवराज अवस्थी , माघ २७, कञ्चनपुर– शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको अर्धवार्षिक समीक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ।
बैठकमा सुरक्षित आवास गृहको हालसम्मको प्रभावकारिता, चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो।शान्ति पुनर्स्थापना गृह २०५० साल माघ ४ गते स्थापना भई नेपालका विभिन्न जिल्लामा शाखा तथा सम्पर्क कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको संस्था हो।
कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र धनुषा जिल्लामा यसको शाखा कार्यालय छन् भने भारतको दिल्लीमा समेत यसको सेवा विस्तार भइसकेको छ। संस्था सीमावर्ती क्षेत्रमा जोखिममा परेका महिला तथा बालबालिकाको उद्धार, पुनःस्थापना तथा पुनर्मिलनका कार्यहरू गर्दै आइरहेको छ।चार वर्षदेखि सञ्चालनमा रहेको सम्पर्क कार्यालय बेलौरीले पछिल्ला दुई वर्षयता बेलौरी नगरपालिका, बेलडाँडी, लालझाडी र पुनर्वास पालिकासँग सहकार्य गर्दै सुरक्षित आवास गृह सञ्चालन गरिरहेको छ।
समीक्षा बैठकमा सम्पर्क कार्यालय बेलौरीकी परामर्शदाता नितु बिष्ट र क्षेत्रीय संयोजक सञ्चित सिंहले सुरक्षित आवास गृह सञ्चालनको उद्देश्य, हालसम्मको प्रगति तथा वित्तीय व्यवस्थापनबारे विस्तृत जानकारी दिएका थिए।संस्थाले हालसम्म ११० जनालाई सूचना तथा परामर्श सेवा प्रदान गरेको छ भने भारतबाट १ जना महिलाको उद्धार गरेको छ।
संकटमा परेका ५ जना महिला तथा बालबालिकालाई सुरक्षित आश्रय दिइएको छ भने १ जना बालबालिकाको पुनःस्थापना गरिएको छ। साथै, संस्था सीमा निगरानी, जनचेतनामूलक कार्यक्रम, पारिवारिक पुनर्मिलन तथा आयमूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ।बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरीले सुरक्षित आवास गृहले जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेलिरहेको बताए।
उनले भने, “सीमावर्ती क्षेत्रमा मानव बेचबिखन तथा हिंसाका घटनाहरू रोक्न स्थानीय सरकार, सुरक्षा निकाय र सामाजिक संस्थाहरूबीच अझ प्रभावकारी सहकार्य आवश्यक छ।”लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले संस्थाको कामप्रति सकारात्मक प्रतिक्रिया दिँदै सीमा क्षेत्रमा थप सक्रियता आवश्यक रहेको बताइन्।
उनले भनिन्, “जोखिममा परेका बालबालिका र महिलाहरूको संरक्षण तथा पुनःस्थापनाका लागि यस्ता कार्यक्रम प्रभावकारी छन्।
स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्न हामी तयार छौं।”कार्यक्रममा बेलौरी नगरपालिका उपप्रमुख जोगराम चौधरी लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना, बेलौरी नगरपालिका न्यायिक समितिका सदस्यहरू, बेलौरी नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख, बेलौरी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत, इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि, सशस्त्र प्रहरी बल बेलौरी गुल्मका अधिकारीहरू, महिला तथा बालबालिका शाखाका प्रमुख तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। भने शान्ति पुनर्स्थापना गृहकी कर्मचारी मनिषा न्यौपानेले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

