आइत, जेष्ठ २४, २०८३

हेडसर, लेखापाल र अध्यक्ष भ्रष्टाचारमा लिप्त


कञ्चनपुर, कार्तिक ११ राज्यको लगानीमा संचालनमा रहेका सामुदायिक विद्यालय बिग्रीए, भत्किए अनि भ्रष्टाचार मात्रै भयो, नतिजा बेहाल आयो भन्ने यो अभिभावकको गुनासोलाई केही भ्रष्टाचारी हेडसर, अध्यक्ष र लेखापालले झन पुष्टी गरिदिएका छन ।

एक सामुदायिक विद्यालयका अध्यक्ष, हेडसर र लेखापालले मिलोमतो गरेर भ्रष्टाचार गरेपछि उनीहरुमाथि अख्तियारले डण्डा बचाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङजाको गल्याङ नगरपालिका– ४ स्थित शिशु कल्याण माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक रबिलाल लुईँटेल, लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम थापाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरुले आर्थिक वर्ष २०७८÷०७९ मा विद्यालयलाई आइसिटी कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजारमध्ये दुई लाख १७ हजार र विद्यालय कोषको दुई लाख ५४ हजार ६६७ रुपैयाँ गरी चार लाख ७१ हजार ६६७ रुपैयाँ रकम हिनामिना गरेको अभियोगपत्रमा उल्लेख छ।

लुइँटेल, गाहा र थापाले २०७९÷०३÷२३ मा सात थान डेक्सटप कम्प्युटर, एक थान प्रोजेक्टर, एक थान ल्यापटप र एक थान प्रिन्टरलाई ६ लाख ७४ हजार ४५ रुपैयाँमा खरिद गरी २ थान कम्युटर तथा एक÷एक थान प्रिन्टर र प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार गरेको अख्तियारले जनाएको छ ।

यसैगरी, उनीहरुले विद्यालय व्यवस्थापन समितिको निर्णय वेगर विद्यालय कोषबाट प्रधानाध्यापक सापटी दुई लाख ५४ हजार ६६७ रुपैयाँ २६ पैसा प्रधानाध्यापकको नाममा चेक काटी विद्यालयको कोषबाट निकाली फिर्ता नगरेको समेत आरोपपत्रमा उल्लेख छ।

सामुदायिक विद्यालयका अध्यक्ष, हेडसर र लेखापाल यसरी भ्रष्टाचारमा लिप्त भएपछि सामुदायिक विद्यालय बनाउन अहोरात्र खटिएका अध्यक्ष, हेडसर र लेखापालको मनोबल खस्काएको छ ।

सम्बन्धित समाचार