आइत, जेष्ठ २४, २०८३

विपिन जोशीको महाकाली नदीमा अन्त्येष्टि गरिँदै


कञ्चनपुर, कात्तिक ४ गते । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार अन्त्येष्टि गरिँदै छ ।

सोमबार साँझ काठमाडौँबाट धनगढी हुँदै महेन्द्रनगरस्थित घरमा ल्याइएको शव आज महाकाली नदीको भुजेला घाटका दाहसंस्कार गरिने भएको हो ।

स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, स्थानीय, आफन्त, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरिँदै छ ।सोमबार बिहानैदेखि विपिनको घरमा स्थानीयको भिडभाड रहेको थियो, भने घरमा रुवावासी चलेको छ ।

सोमबार रातभरि आगनमा पाल पुनी शव कुर्दे रोएर बसेका परिवारजन, छरछिमेक तथा सिङ्गाो राष्ट्रनै स्तब्ध बनेको छ ।शवको वरिवरी रुँदै श्रद्धाञ्जली अर्पण गर्नेहरूको लामो लाइन लागेको छ । छोराको अनुहार छोएर आमा पद्यमा जोशी बर्बर आँसु झारिरहनुभएको छ ।

आमा पद्यमाले छोरा विपिनको अन्तिम बिदाइ गर्नुभएको छ । बुबा आँखाबाट आँसु खसाल्दै शव कुरेर बसिरहनुभएको थियो ।बहिनी पुष्पाले दाइलाई बारम्बार उठाउने प्रयास गर्दै आँखाबाट गहिरो आँसु निकाल्दै अन्तिम बिदाइ गर्नुभएको छ । पार्थिव शरीरको अन्तिम दाहसंस्कारका लागि मङ्गलबार बिहान ८ बजे घरबाट शव यात्रा निकालिएको छ ।

श्रद्धाञ्जली सभामा पूर्वपश्चिम राजमार्ग तथा आसपासका सडक क्षेत्रमा जाम लाग्नुका साथै अन्तिम दाहसंस्कारमा जानेको लाइन लागेको छ ।युवाहरू हातमा राष्ट्रिय झण्डाबोकेर देशले गुमायो एउटा सपूत भन्ने ब्यानरसहित अन्तिम यात्रामा निस्किएका छन् ।

“सिक्दै सिकाउँद” कार्यक्रमअन्तर्गत विसं २०८० असोजमा इजरायल गएका विपिनको हमास र इजरायलबिच भएको द्वन्द्वमा परि ज्यान गएको थियो । दुई वर्ष पहिले नै ज्यान गुमाएका विपिनको कूटनीतिक पहल हुन नसक्दा असोज २७ गते मात्रै परिवारलाई जानकारी गराइएको थियो ।

विपिनको परिवारलाई प्रदेश, स्थानीय सरकारद्वारा सहयोगसुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीको परिवारलाई आर्थिक सहायता गर्ने निर्णय गरेको छ । सोमबार प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जोशीको परिवारलाई मानवीय सहायता स्वरूप दुई लाख रुपियाँ सहयोग गर्ने बताउनुभएको हो ।

यसैगरी, भीमदत्त नगरपालिकाले पनि विपिनको परिवारलाई सहायता गरिने जनाएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले विपिनको मृत्युले सिङ्गो राष्ट्रनै शोकमा डुबेको बताउनुभयो । नगरप्रमुख बोगटीले विपिनको परिवारलाई पालिकाबाट आवश्यक सहयोग प्रदान गरिने बताउनुभयो । यसै गरी भीमदत्त नगरपालिका ३ का वडा अध्यक्ष गगन सिंह धामीले विपिनको सम्झनामा अक्षयकोष स्थापना गरिने बताउनुभएको छ ।

वडा नम्बर ३ मा रहेका तीन वटै सामुदायिक विद्यालयहरूमा विपिनको सम्झनामा अक्षय कोष स्थापना गरिने वडा अध्यक्ष धामीले बताउनुभयो । अध्ययनको सिलसिलामा गएका विपिनको विद्रोहीहरूले निर्ममता पूर्वक हत्या गरेपछि मुलुकले एक सबुत गुमाउनुपरेको बताउनुहुँदै उहाँले विपिनको परिवारलाई आफूहरूबाट हुन सक्ने सक्दो सहयोग प्रदान गरिने बताउनुभएको छ ।

त्यस्तै, विपिन जोशीसहित अध्ययनको सिलसिलामा बाह्य मुलुक गएका नागरिकको सरकारले उचित सुरक्षा प्रदान गर्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको छ । गरिबका छोराछोरीमाथि अन्याय हुँदा समेत सरकारमा बसेकाले कुनै कदम चाल्न नसकेको भन्दै चौतर्फी आलोचना भइरहेको हो ।भीमदत्त नगरपालिकाका स्थानीय मदन चन्दले यस क्षेत्रबाट निर्वाचित भएर गृहमन्त्री बनेका, परराष्ट्र मन्त्रालय सम्हालेका नेताहरूले गरिब परिवारका बालबच्चाको विषयमा आवश्यक पहल नचाल्दा अहिले यो स्थिति आएको बताउनुभयो ।

सरकारले आवश्यक कुटनिटिक पहल गर्न नसक्नु, देशमा जिम्मेवार विहीन राजनिनिक दल हुँदा त्यसको सिकार विपिन हुनुपरेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । समयमै रिहाइका लागि आवश्यक कूटनीतिक पहल गर्न नसकेको भन्दै यसको जबाफदेही राजनीतिक दलका नेताहरू हुनुपर्ने स्थानीयहरुले माग गरेका छन् ।

सम्बन्धित समाचार