आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरका स्थानीय तहमा बढ्न थाल्यो आन्तरिक राजस्व


कञ्चनपुर।कञ्चनपुरका स्थानीय तहले निर्धारित लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेका छन् । विगत तीन वर्षमा भिमदत्त नगरपालिका, बेल्डाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिकाले लक्ष्यभन्दा बढी आन्तरिक राजस्व संकलन गरेका हुन् ।

भिमदत्त नगरपालिकाले आर्थिक वर्ष २०७९÷८० मा करिब २२ करोड रुपैयाँ आन्तरिक राजस्व संकलनको लक्ष्य लिएकामा २४ करोड रुपैयाँ संकलन गरेको थियो ।

त्यसैगरी आव २०८०÷८१ मा २४ करोड रुपैयाँको लक्ष्य लिएकामा २८ करोड रुपैयाँ र आव २०८१÷८२ मा ३० करोड रुपैयाँको लक्ष्य लिएकामा ३३ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो ।

बेलडाँडी गाउँपालिकाले पनि आव २०७९÷८० मा ७० लाख रुपैयाँ संकलनको लक्ष्य लिएकामा घटेर ४९ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । साथै आव २०८०÷८१ मा पनि ८० लाख रुपैयाँ लक्ष्य लिएकामा ३ लाख रुपैयाँ कम अर्र्थात् ७७ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो ।

तर नगरपालिकाले आव २०८१÷८२ मा ८५ लाख रुपैयाँको लक्ष्य लिएकामा ९३ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो ।दोधारा चादँनी नगरपालिकाले आव २०७९÷८० मा करिब ३ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिए पनि जम्मा २ करोड रुपैयाँ मात्र आन्तरिक राजस्व संकलन गरेको थियो ।

यद्यपि नगरपालिकाले आव २०८०÷८१ मा भने करिब २ करोड रुपैयाँ संकलनको लक्ष्य लिएकामा ४ करोड ९६ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो । साथै आव २०८१÷८२ मा ४ करोड ४८ लाख रुपैयाँको लक्ष्य लिए पनि जम्मा ४ करोड २ लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको थियो ।

यसरी बढ्यो आन्तरिक राजस्वदोधारा चादँनी नगरपालिकाका लेखापाल गोविन्द सिंह ऐरका अनुसार विगतका तीन आर्थिक वर्षमा नगरपालिकाले लक्ष्यअनुसारको राजस्व उठाउने प्रयास गरिरहेको छ । उनले आव २०८१÷८२ मा पालिकाको आन्तरिक राजस्व देखिनुमा प्राविधिक समस्या भएको बताउँछन् ।

ऐरका अनुसार भीमदत्त नगरपालिकाले महाकाली रोयल्टीअन्तर्गतको राजस्व रकम हाल्न ढिलाइ गरिरहेको छ । भुक्तानी अझै आउन बाँकी रहेको र सिस्टममा प्राविधिक समस्या देखिएकाले समयमै रकम भुक्तानी हुन नसकेको उनको भनाइ छ ।

दोधारा चादँनी नगरपालिकाका प्रमुख किशोरकुमार लिम्बुले पालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरिरहेको बताउँछन् । विगतको तुलनामा ठेक्कापट्टाको काम बढेको र करको दयरामा ल्याएर १२÷ १३ वर्षदेखि बजारको भाडा नउठाएको कर पनि अहिले धेरै उठाएकाले राजस्व बढेको उनको भनाइ छ ।

प्रमुख लिम्बुले भने, “पालिकामा नदीमा हुने ठेक्कापट्टाको रकम पनि पहिलेको तुलनामा बढेको छ, केही नयाँ काममा पनि ठेक्का लागेको छ, करको दायरा बढाएको छ, अबको लक्ष्य सबैलाई करको दायरामा ल्याएर राजस्व बढाउनु हो, नगरभित्रको व्यवसायलाई दर्ता प्रक्रियामा ल्याउछौँ ।”दोधारा चादँनी–६ का अध्यक्ष ओमबहादुर बस्नेतले विगतको तुलनामा हाल पालिकाको राजस्व संकलन उल्लेखनीय रूपमा वृद्धि भएको बताए ।

उनले भने, “पालिकाले पहिले बेवास्ता गरिएको क्षेत्रहरूमा समेत ध्यान पु¥याएर राजस्व संकलनको दायरा बढाएको छ ।” व्यवसायीहरूलाई दर्ता प्रक्रियामा सहभागी गराउँदै, समयमै कर तिर्न प्रेरित गरेको र कृषक समूहलाई दर्ता प्रक्रियामा ल्याएर वार्षिक रूपमा बीउ पुँजी दिने व्यवस्था गरिएको उनले बताए ।

उक्त कदमले कृषकलाई व्यावसायिक रूपमा अगाडि बढ्न सहयोग पुगेको र विभिन्न फर्महरू खोल्ने तथा दर्ता हुने क्रम बढेको उनको भनाइ छ ।भिमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले पनि पालिकाले लक्ष्यअनुसार राजस्व संकलन गरेको बताए ।

उनका अनुसार नगरपालिकाले पछिल्लो समयमा धेरै व्यापार व्यावसाय, उद्योगहरु करको दायरामा आउँदा राजस्व संकलन बढेको हो ।नगरपालिकाका प्रवक्ता पदमराज अवस्थीले आफू निर्वाचित भएपछि घाट र खोलानालाबाट रोयल्टी संकलन गर्ने प्रणालीलाई व्यवस्थित गरेकाले पनि राजस्व संकलन बढेको बताए ।

उनका अनुसार, विगतका वर्षमा अमानत प्रणालीबाट राजस्व उठाउँदा अधिकतम डेढ करोडसम्म मात्र संकलन हुन्थ्यो भने तर अहिले टेन्डर प्रक्रियाबाट जाँदा आठ करोडदेखि नौ करोड रुपैयाँसम्म राजस्व संकलन भइरहेको छ ।

अवस्थीले भने, “हामीले कुनै पनि अमानतमा नउठाइकन, पूर्णरूपमा टेन्डर प्रक्रियामा गएर राजस्व संकलनलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाएका छौं। यसैले लक्ष्यभन्दा बढी राजस्व उठ्न सफल भएको हो ।”भीमदत्त–१८ का अध्यक्ष रविन्द्रप्रसाद देवकोटाले १९ वडामध्ये वडा नं १८ ले सबैभन्दा बढी आन्तरिक राजस्व संकलन गर्दै आएको दाबी गरे ।

वडाले गत आर्थिक वर्ष २०८१÷८२ मा करिब ३५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेकामा ४० लाख रुपैयाँ संकलन गरेको उनको भनाइ छ । राजस्व संकलनमा लक्ष्यभन्दा बढी सफलता प्राप्त हुनुका पछाडि सेवाग्राहीको चाप वृद्धि हुनु, १८ न. वडा क्षेत्रमा मुख्य बजार पर्नु तथा निकुञ्जसँग जोडिएको क्षेत्र भएकाले यस वडाको जनघनत्व बढी भएका कारणहरूले गर्दा अन्य वडाहरूको तुलनामा यहाँको जनसङ्ख्या पनि बढी भएकाले राजस्व पनि उच्च संकलन भएको उनको बुझाइ छ ।

बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले आफ्नो कार्यकालमा गाउँपालिकामा आन्तरिक राजस्व संकलन उल्लेख्यरूपमा वृद्धि भएको बताइन् ।

उनले बजार व्यवस्थापनलाई व्यवस्थित बनाउँदै राजस्व समितिमार्फत प्रत्येक वडाका बजारहरूको अनुगमन भइरहेको छ । यसक्रममा थुप्रै पसलहरू दर्ता प्रक्रियामा नरहेर सञ्चालनमा रहेको पाइएको र ती सबैलाई दर्ता सूचीमा ल्याएर विधिवत रूपमा राजस्व दायरामा समेटिएको उनको भनाइ छ ।उपाध्यक्ष नाथका अनुसार, किसान र मदिरा व्यवसायसँग सम्बन्धित कर दरमा समेत समायोजन गरिएको छ ।

नियमित अनुगमनमार्फत व्यापारीहरूलाई समीक्षा र तालिम दिइने गरेको र राजस्व नतिर्नेहरूलाई सम्झाई बुझाई गरेर तिर्न प्रेरित गरिएको छ । “राजस्व सरकारलाई तिर्नुपर्छ भन्ने चेतना फैलाएका छौं, जसले गर्दा राजस्वको दायरा बढ्न सहयोग गरेको छ”, उनले भनिन् ।

बेलडाँडी–४ का अध्यक्ष बिरबहादुर खड्काले आफ्नो वडा तथा पालिकाले लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न सफल भएको बताए । उनले भने, “विगतका वर्षहरूको तुलनामा अहिले वडामा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको छ, राजस्व संकलनको लक्ष्य तीन लाख रुपैयाँ भए पनि सोभन्दा बढी संकलन भइसकेको छ ।

” पहिले राजस्व संकलन जिल्ला हुँदै पालिकामा बुझाउनुपर्ने भए पनि अहिले मालपोतसहितका विभिन्न कर वडामै बुझाउने व्यवस्थाले राजस्व संकलन सहज र प्रभावकारी भएको उनको बुझाइ छ “राजस्वको मुख्य स्रोत मालपोत हो, जुन अहिले वडाबाटै संकलन भइरहेको छ, यसले सेवाग्राहीलाई पनि सहज भएको छ र राजस्व संकलनमा समेत सकारात्मक प्रभाव परेको छ”, उनले भने ।

कंचनपुरका स्थानीय तहहरूमा आन्तरिक राजस्व संकलनमा वृद्धि हुनु सकारात्मक संकेत देखिएको भीमदत्त नगरपालिकाका स्थानिय मोहन खत्रिले बताएका छन् ।

उनले भने, “राजस्व संकलनमा वृद्धिले गर्दा स्थानिय तहहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न थालेका छन्, स्थानिय स्रोतहरुको उचित परिचालन,कर प्रणालीमा सुधार आएर सेवाग्राहिको संख्या पनि बड्न थालेको बताए ।

उनले यसरी जनताबाट कर संकलन गरेको बजेट स्थानिय निकायमै दिगो विकासको काम भए जनताको करको उचित उपयोग हुने बताएका छन् ।

सम्बन्धित समाचार