कञ्चनपुर, असोज २४ सत्ताशक्तिको आडमा घुस काण्डमा बचेका एमाले नेता एव पुर्वमन्त्री बलराम अधिकारीपनि फन्दामा परेका छन ।
३२ लाख घुस खाएको दाबीसहितको अडियो सार्वजनिक हुँदा पनि सत्ताशक्तिको आडमा अनुसन्धानबाहिरै राखिएका पूर्वभूमि व्यवस्थामन्त्री बलराम अधिकारीमाथि पनि अब अनुसन्धान हुने भएको छ ।
एमाले नेता अधिकारीले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीकै आडमा अनुसन्धानबाट उन्मुक्ति पाउँदै आएका थिए ।
जेन–जी आन्दोलनले ओलीलाई सत्ताच्युत गरेपछि अहिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार छ भने जेन–जी अगुवा, सहिदका परिवार र घाइतेहरूले अख्तियार प्रमुख प्रेम राईसहित सबै आयुक्तहरूले राजीनामा दिनुपर्ने दबाब बढाइरहेका छन् ।
यसैवेला अख्तियारले पूर्वमन्त्रीद्वयसहित सातजनालाई मुद्दा दायर गर्दै अर्का पूर्वमन्त्री अधिकारीसहित तत्कालीन सचिव अर्जुनप्रसाद पोखरेल (हाल अवकाश)लाई अनुसन्धानमा तान्ने जनाएको हो ।
बिचौलिया सुजनसँग पूर्वमन्त्री अधिकारीले ३२ लाख घुस लिएको आरोप छ । त्यस्तै, पोखरेलले पाँच लाख नगदसहित १० हजार मूल्यका सामान, रक्सी र दुई वनकुखुरा लिएको आरोप छ ।
यी विषयका सम्बन्धमा छुट्टै मिसिल खडा गरी अनुसन्धान अधिकृत तोकी थप अनुुसन्धान गर्ने निर्णय भएको अख्तियारले आरोपपत्रमा उल्लेख गरेको छ ।
घुस प्रकरणमा संलग्न बिचौलियाले अधिकारीलाई पनि घुस दिएको आरोप लगाएका थिए । मुद्दा दायर भएका पूर्वमन्त्री गुप्ताले समेत अधिकारीलाई पोलेका थिए ।अधिकारीमाथि छानबिन चलिरहेको, उनीविरुद्ध मुद्दा जाने प्रमाणहरू भेटिएको र दोस्रोचरणमा उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गर्ने अख्तियार स्रोतले बतायो ।
‘अधिकारी पनि छानबिनको दायरामा छन्,’ स्रोत भन्छ, ‘थप प्रमाणहरूसमेत हेरेर उहाँविरुद्धसमेत दोस्रो मुद्दा दायर गर्ने तयारी छ ।’ आफ्नालाई बचाउने अरुलाई फसाउने काँग्रेस,एमाले नेतृत्वको अधिल्लो सरकारले विभेद गरेपछि जेनजी आन्दोलन चर्किएको कतिपयको विश्लेषण छ ।

