आइत, जेष्ठ २४, २०८३

डा. रेणु अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नियुक्त गर्न माग


काठमाण्डौ, महिला अधिकार, सामाजिक न्याय र समावेशी लोकतन्त्रको क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि क्रियाशील डा. रेणु अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको रूपमा नियुक्त गर्न माग उठेको छ।

युवाहरूको तर्फबाट विभिन्न सामाजिक सञ्जाल र सार्वजनिक मञ्चमार्फत सरकारसमक्ष यो माग पुर्‍याइएको हो।डा. अधिकारी महिला अधिकार आन्दोलनको अग्रणी व्यक्तित्वको रूपमा चिनिन्छिन्। उहाँको योगदान केवल नीतिगत सुधारमा सीमित छैन; सुरक्षित आवासका व्यवस्था, छिटो न्याय प्रणाली, हिंसा प्रभावितहरूप्रति मैत्रीपूर्ण दृष्टिकोण, महिला–मैत्री संविधान निर्माण, र समुदायस्तरसम्मको कानुनी र न्यायिक पहुँच सुनिश्चित गर्न उहाँले खेलेको भूमिका उल्लेखनीय छ।“डा. अधिकारीको यात्राले कहिल्यै विश्राम लिएको छैन,” एक युवाले सामाजिक सञ्जालमा लेखेका छन्, “उहाँको प्रतिबद्धता र नेतृत्वले हजारौं महिलाहरू, किशोरीहरू र हिंसाबाट प्रभावितहरूलाई प्रत्यक्ष रुपमा सहयोग पुर्‍याएको छ।”युवाहरूको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ,

“समाज रुपान्तरणमा समर्पित, परिवर्तनशील नेतृत्वको प्रतीक डा. रेणु अधिकारीजस्तो व्यक्तित्वलाई मन्त्री बनाउनु वर्तमान सरकारको उत्तरदायित्व हो। उहाँको योगदानलाई केवल सम्मान गर्नु मात्र होइन, देशको नीतिनिर्माण तहमा समावेश गर्नु आवश्यक छ।”डा. अधिकारीमाथिको यो समर्थनले सरकारको ध्यान तान्ने अपेक्षा गरिएको छ। सामाजिक अभियन्ता, अधिकारकर्मी र नीति विश्लेषकहरूले समेत यस्तो मागलाई यथोचित ठान्दै सरकारलाई समावेशी नेतृत्वको दृष्टान्त प्रस्तुत गर्न आह्वान गरिरहेका छन्।यसअघि पनि डा. अधिकारी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन्। उहाँको अनुभव, दूरदृष्टि र युवाप्रतिको प्रेरणा दिने शैलीलाई मन्त्रालयको नेतृत्वमा ल्याउनु समयको माग भएको युवाहरूको तर्क छ।

सम्बन्धित समाचार