आइत, जेष्ठ २४, २०८३

कञ्चनपुरमा पनि निषेधाज्ञा, जेन-जी प्रदर्शन उग्र भएपछि प्रशासनको कठोर कदम


हरिश्चन्द्र बाग, कञ्चनपुर, २४ भदौ । जेन-जी पुस्ताको आन्दोलन कञ्चनपुरमा झन् उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ११ बजेदेखि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले शान्ति सुरक्षा कायम राख्न आज बिहान ११ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा लागू गरिएको जानकारी दिनुभयो ।

यसअघि प्रदर्शनकारीहरूले महेन्द्रनगरस्थित नेकपा एमाले र नेपाली काँग्रेसका पार्टी कार्यालय परिसर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रशासन कार्यालय परिसरमा आगजनी र नाराबाजी गरेका थिए ।

प्रशासन कार्यालय भित्रै आगजनी भएपछि परिस्थिती नियन्त्रण गर्न प्रहरीले हवाई फायर गर्नुपरेको थियो ।त्यसैगरी, वेदकोटमा अवस्थित निवर्तमान गृहमन्त्री रमेश लेखकको घर घेर्न प्रदर्शनकारी युवा अघि बढेपछि सुरक्षाकर्मीलाई थप दबाब परिरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगर, झलारी, बेलौरी, पुनर्वास, बेलडाँडी सहित विभिन्न ग्रामीण क्षेत्रका बजार क्षेत्रहरूमा समेत जेन-जी पुस्ताका युवाहरूको प्रदर्शन निरन्तर जारी छ ।

जिल्ला प्रशासन कार्यालयले आम सर्वसाधारणलाई सुरक्षालाई ध्यानमा राख्दै अनावश्यक रूपमा घर बाहिर ननिस्कन आग्रह गरेको छ भने सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको जनाएको छ ।

सम्बन्धित समाचार