आइत, जेष्ठ २४, २०८३

जेनजी आन्दोलन– प्रहरीद्वारा अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु, ४२२ जना घाइते


काठमाडौं । सरकारले भदौ १९ गते नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय गराउने निर्णय गरेसँगै नेपालमा युवापुस्ता आक्रोशित थियो ।

फेसबुक, युट्युबसहित २६ वटा सामाजिक सञ्जाल बन्द गराउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयको विरोध, जनताको कर धेरैजसो भ्रष्टाचारमा जाने गरेको भन्दै त्यसको विरोधस्वरुप जेनजी पुस्ता स्वतःस्फुर्तरुपमा सोमबार काठमाडौंका सडकमा निस्किए ।उनीहरुको तयारी काठमाडौं बाहिर पनि देखियो ।

काठमाडौंको बानेश्वरमा युवाहरुले प्रहरीको ब्यारिकेड तोड्दै अघि बढेपछि प्रहरीले अश्रु ग्यास, रबरका गोली प्रहार गरेको थियो । प्रदर्शनकारी संसद् भवन प्रवेश गर्न थालेपछि प्रहरीले अन्धाधुन्ध गोली हानेको थियो ।प्रहरीको गोली लागेर काठमाडौंमा अहिलेसम्म १७ जनाको मृत्यु भएको छ ।

इटहरीमा पनि दुईजनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।अहिलेसम्म इटहरी र काठमाडौंमा गरी १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।अहिलेसम्म देशभर ४२२ जना घाइते भएको जनाइएको छ । जसमध्ये कम्तिमा पनि २० जनाको अवस्था गम्भीर रहेको र केहीको छातीमै गोली लागेको पाइएको छ ।

बानेश्वर चोकमा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्‍याइएको थियो । केहीको घटनास्थलमै र केहीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएका छन् ।बानेश्वरको सिभिल अस्पतालमा अहिले पनि एक सय ७० जना बढी घाइते रहेका छन् ।

सो अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । सोही अस्पतालबाट १५ जनालाई वीर र ट्रमामा पठाइएको थियो ।वीर अस्पतालमा ६ जना गम्भीर घाइते रहेका छन् । ट्रमा सेन्टरमा ४९ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा ८ जनाको मृत्यु भइसकेको छ । आठजनामध्ये छ जनाको सनाखत भएको छ ।

सो अस्पतालमा विपद् योजना लागु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बानेश्वरको एभरेष्ट अस्पतालमा ३४ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी त्यहाँ सात जना ट्रमाका बिरामी रहेका छन् । त्यसैगरी पाटन अस्पतालमा चारजना घाइतेको उपचार भइरहेको छ ।

काठमाडौं मेडिकल कलेजमा ३२ जना घाइतेको उपचार भइरहेको छ । त्यस अस्पतालमा पुगेका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ भने ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यसैगरी टिचिङ शिक्षण अस्पतालमा १८ जना घाइते भएका छन् । त्यहाँ पनि एक जनाको मृत्यु भएको छ । नर्भिक अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ । नर्भिक अस्पतालले दिएको जानकारीअनुसार दुई जनाको सामान्य उपचारपछि फिर्ता भएका छन् ।

सम्बन्धित समाचार