आइत, जेष्ठ २४, २०८३

नागरिकमाथि बर्बर दमनमा सरकार : प्रधानमन्त्रीले राजीनामा किन नदिने ?


भ्रष्टाचारको विरोध गर्दै अभिव्यक्ति स्वतन्त्रता र सुशासनका पक्षमा उभिएका युवाहरुको आवाज गोलीले दबाउन खोजिएको नृशंस र बर्बर घटनाले देश स्तब्ध छ । जेन जी पुस्ताले शान्तिपूर्णरुपमा प्रदर्शन गर्न खोज्दा प्रहरीले पञ्चायती बर्बरता बिर्साउने गरी दमन गरेको छ । प्रहरी दमनमा डेढ दर्जन युवाहरुको मृत्यु भएको छ । दुई सय बढी घाइते छन् ।यति नृशंस हत्याकाण्ड मच्चिँदा समेत देशका गृहमन्त्रीले राजीनामा दिँदैनन । न त प्रधानमन्त्रीले यो विषयलाई गम्भीरतापूर्वक लिन्छन् ।त्यसो त प्रधानमन्त्रीबाट आस गर्नु व्यर्थ हो किनभने उनकै पार्टीका एकजना मन्त्रीले सडकमा यात्रुलाई ठक्कर दिँदै अस्पताल भर्ना हुने अवस्था हुँदा समेत उनले त्यसलाई सामान्य घटनालाई अतिरञ्जित गरियो भन्ने गरेका छन् ।तर जनताका लागि यो सह्य छैन । जनताले के मागेका थिए, जनताले त सरकारलाई आफ्ना आक्रोस सुनाउन चाहेका थिए । आफ्ना माग राखेका थिए । त्यो माग राख्ने क्रममा उनीहरुले शान्तिपूर्णरुपमा अनुमति लिएर नै आन्दोलनको घोषणा गरेका थिए । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै पर्याप्त सतर्कता समेत अपनाएका थिए । तर प्रहरीले संयमता गुमायो । प्रहरीले दमनको वातावरण बनायो । यो घटनामा घुसपैठ भयो या भएन भन्ने प्रश्न महत्वपूर्ण होइन, मुख्य कुरा घुसपैठ भएकै अवस्थामा समेत संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीले सतर्कताका उपाय किन अपनाउन सकेन र आफ्नो कमजोरीलाई गोली चलाएर तुष्टि गर्न खोज्यो भन्ने हो ।सामान्यतः वानेश्वरमा एभरेष्ट होटल अगाडिसम्म आन्दोलन गर्न पाइन्छ । आन्दोलन हुने समयमा प्रहरीले त्यसअगाडि वानेश्वर चोकसम्म घेरा गरेको हुन्छ । त्यहाँ आन्दोलनको प्रकृति अनुसार, एक, दुई चार पाँच सम्म तारजालीसहित बारकेड या अन्य छेकवार लगाइएको हुन्छ । एकअर्थमा यो प्रहरीको अभेद्य किल्ला जस्तै हुन्छ । एमसिसीविरुद्धको आन्दोलनदेखि विद्यार्थी संगठन, युवाका या पछिल्लो समय शिक्षकका कैयन आन्दोलनमा समेत प्रहरी त्यहाँबाट अघि बढ्न सकेका थिएनन । सामान्य झडप, लाठीचार्ज या अश्रुग्याँस प्रहार भएपनि त्यहीँ हुन्छ । त्यहाँदेखि बिजुली बजार पुलसम्मै भीडन्त हुन्छ । यो सामान्य प्रक्रिया चलिरहेको थियो ।तर आज त्यसो भएन । आज प्रहरीले पर्याप्त सुरक्षा सतर्कता अपनाएन । प्रहरीले एभरेष्ट नजिकै प्रदर्शनकारीलाई रोकेको भए, र्संवेदनशील मानिने संसद भवनको चौतर्फी सुरक्षा गरेको भए त्यसपछिको अप्रीय घटना हुने थिएन । प्रदर्शनकारीहरुको एउटा समूहले गेट भत्काउँदा सम्म, गेटमाथि, प्रहरी पोष्टमाथि चढदासम्म, आगो लगाउँदा सम्म, पर्खाल भत्काउँदासम्म प्रहरीको भूमिका के थियो ? के त्यो समय नियन्त्रणका लागि पर्याप्त थिएन ?तर प्रहरीले त्यो बेलासम्म स्थितिको गम्भीरता बुझेन । अनि एकाएक उसले रबरको गोली चलाउने आदेश पायो । रबरको गोली चलाएपनि घुँडामुनि चलाउनुपर्ने नियम हुन्छ । तर यहाँ अन्धाधुन्ध गोली चलाइयो । कोही त्यहीँ ढले, कोही अस्पतालमा पुगेर निधन भए । जबकि प्रहरीले त्यहाँ अन्य कैयन उपाय अपनाउन सक्थ्यो । या, त्यो अवस्था नै आउन नदिन सक्थ्यो ।प्रहरीले आदेश अनुसार काम गर्छ । उसले आदेश पायो, गोलीले अनुमति पायो । तर यो समग्र प्रकरणको जिम्मेवारी गृहमन्त्री लिने कि नलिने ? यसको समग्र जिम्मा प्रधानमन्त्रीले लिने कि नलिने ? अभिव्यक्ति स्वतन्त्रतामाथि जे जस्ता तर्क दिएर बन्देज लगाइएको भएपनि आजको आन्दोलन त्यसकै विरुद्धमा थियो । आजको आन्दोलन गठबन्धन सरकारले एकपछि अर्को दलाल र विचौलियाका पक्षमा समर्पणभाव देखाउँदै गरेका निर्णय विरुद्ध थियो । प्रधानमन्त्री यसको मुख्य जिम्मेवार हुन र उनले यसको जिम्मा लिनुपर्छ ।कुनै बेला संसदको रोष्टमबाट प्रतिपक्षी दलका नेता प्रचण्डले आजको स्थिति आउन सक्ने भन्दै सरकारलाई सच्चिन चेतावनी दिएका थिए । तर उनको भनाईलाई बंगलादेश बनाउने भनेर धम्की दिने ? भनेर गलत अर्थमा लिइयो । सरकार सच्चिएको भए, सरकारले सुशासनका पक्षमा काम गरेको भए, जनताका पक्षमा काम गरेको भए यो अवस्था आउने थियो ? प्रचण्डले एकवर्ष अघि नै सचेत गराएका थिए सुध्रिनुस् भनेर । तर सरकार आत्मरतिमा रमायो । उसले सच्चिन चाहेन । फलस्वरुप आजको अवस्था सिर्जना भयो ।सरकारको नेतृत्वको हिसाबले प्रधानमन्त्रीले यसको जिम्मा लिनुपर्छ । तत्काल राजीनामा दिनुपर्छ ।

सम्बन्धित समाचार