कञ्चनपुर।हुलाक सेवालाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्दै नागरिकलाई घरदैलोमै सेवा पुर्याउने विषयमा कञ्चनपुरको महेन्द्रनगरमा अन्तरक्रिया गरिएको छ।हुलाक सेवा विभागको आयोजनामा होटल कलशमा भएको कार्यक्रममा हुलाक सेवाको अवस्था, EMS अर्थात् द्रुत हुलाक सेवा, सेवा विस्तार र प्रविधिको प्रयोगबारे छलफल गरिएको थियो।
कार्यक्रममा हुलाक सेवा विभागका महाप्रबन्धक, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा बोहरा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, संघ–संस्थाका पदाधिकारी र सञ्चारकर्मी सहभागी थिए।
जिल्ला हुलाक कार्यालय कञ्चनपुरका प्रमुख हुलाक अधिकृत सरोज पाण्डेले पछिल्लो समय हुलाक सेवामा सुधारसँगै नयाँ सेवाहरू विस्तार भइरहेको बताए। उनका अनुसार हुलाकमार्फत राहदानी घरदैलोमै पुर्याउने सेवा सञ्चालनमा छ।
साथै EMS सेवामार्फत स्वदेश तथा विदेशमा २० किलोग्रामसम्मका सामान पठाउन सकिने व्यवस्था रहेको छ।सरकारले हुलाकलाई ‘सरकारी कुरियर’का रूपमा विकास गर्ने घोषणा गरेपछि सेवा प्रवाहलाई थप सहज, भरपर्दो र नागरिकमैत्री बनाउने काम अघि बढिरहेको पाण्डेले बताए।उनका अनुसार यातायात व्यवस्था कार्यालय, सरकारी तथा गैरसरकारी सेवा प्रदायक निकाय, वित्तीय संस्था र निजी क्षेत्रसँग सहकार्य गर्न सके हुलाकमार्फत विभिन्न सेवा नागरिकको घरमै पुर्याउन सकिनेछ।पाण्डेले भने,“सेवा प्रदायक कार्यालयसँग समन्वय र सहकार्य गर्न सके नागरिकले कार्यालय धाउनुपर्ने अवस्थालाई कम गर्दै हुलाकमार्फत धेरै सेवा घरमै पुर्याउन सकिन्छ।”
अन्तरक्रियामा सहभागीहरूले हुलाक सेवालाई समयअनुसार प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई लक्षित गरी सेवा विस्तार गर्नुपर्ने उनीहरूको भनाइ थियो।सहभागीहरूले हुलाकको परम्परागत भूमिकालाई आधुनिक प्रविधि र घरदैलो सेवा प्रणालीसँग जोड्न सके सरकारी सेवा नागरिकसम्म पुर्याउने प्रभावकारी माध्यम हुलाक बन्न सक्ने धारणा राखेका थिए।कार्यक्रमले EMS लगायतका सेवाको प्रयोग बढाउने, हुलाकको सेवा प्रवाह सुधार गर्ने तथा सरकारी, निजी र वित्तीय क्षेत्रसँग सहकार्यको सम्भावना खोज्ने आधार तयार गरेको आयोजकले जनाएको छ।

