काठमाडौं । राजधानीमा भइरहेको जेन जी पुस्ताको आन्दोलनले सोमबार दिउँसोसम्म ९ जनाको ज्यान लिएको छ ।विभिन्न अस्पतालहरूबाट प्राप्त विवरणअनुसार दिउँसो साढे ३ बजेसम्म ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ गरी ९ जनाको मृत्यु भएको पुष्टि भएको छ ।भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा शान्तिपूर्ण ढंगले सुरू भएको आन्दोलन दमन गर्न सरकारले गोली बर्साएपछि काठमाडौंमा रगतको खोला बगेको छ । सडकमा भागदौड, अस्पतालमा रुवाबासी र सर्वसाधारणको आँखामा त्रास देखिन थालेको छ ।घाइते बोकेर अस्पताल धाउने साथीहरूको आँसु, इमरजेन्सी कक्षमा कराउँदै गरेका आमाबुबा र बेडमा पल्टिएका युवाहरूको तस्बिरले आन्दोलनको पीडा झनै मार्मिक बनाएको छ ।जनताको आवाज सुन्नुको सट्टा सरकारले दमनको बाटो रोजेको भन्दै आन्दोलनकारी आक्रोशित बनेका छन् । सामाजिक सञ्जाल बन्द गरेर आफ्ना कमी–कमजोरी लुकाउने सरकारको प्रयास उल्टै विफल भएको आरोप आम नेपालीले लगाइरहेका छन् ।“रगतले पोषिएका सत्यलाई कसरी छोप्ने? सरकार चुप लागेर बस्न सक्छ, तर इतिहासले यो बलिदान सम्झिरहन्छ,” आन्दोलनमा सहभागी एक युवाले भावुक हुँदै भनेका छन् ।मृतकको संख्या बढेसँगै राजधानीमा तनाव अझै चर्किँदै गएको छ । आन्दोलनकारीले यो बलिदानलाई न्याय, पारदर्शिता र स्वतन्त्रताको संघर्षको प्रतीकका रूपमा अगाडि बढाउने प्रतिज्ञा गरेका छन् ।काठमाडौं अहिले बन्दुकको धुवाँ र आँसुमा ढाकिएको छ, तर सडकमा उत्रिएका युवाहरू भन्छन् , “हाम्रो आवाज अब दबिँदैन।”
जेन जी आन्दोलन : भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा बग्यो रगतको खोला

