आइत, जेष्ठ २४, २०८३

टुहुरो दलित बालक मृत्यु प्रकरण ः कोही मन्त्री पालको बचाउमा केही खगेन्द्र सुनारतिरै, सन्नटामा रहेको कोली परिवारमाथि अत्याचाररतन लुहार


कञ्चनपुुर, सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको डिलाशैनी गाउँपालिका–३ मा १४ वर्षीय बालक किरण कोलीका मृत्यु प्रकरणमा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पालको नाम मुछिएको छ ।

सामाजिक सञ्जालमा मन्त्रीको गाडीले किचेर मारेको र दलितमाथि जातीय विभेद गरेको भन्दै उनको आलोचना भइरहको छ । गिरीबगडस्थित चमेलिया नदीको छेउमा बिजुलीको लाइनमुनि अवैध रुपमा थुपारिएको बालुवामा चढ्दा करेन्ट लागेर गत १७ साउनमा किरणको मृत्यु भएको थियो ।

बालकको मृत्युको विषयलाई लिएर स्थानीयले गोकुलेश्वर–गन्ना सडक बन्द गरी आन्दोलन गरेका थिए । त्यसपछि मृतक परिवारसहित स्थानीय जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा सडक खुलाइएको थियो । पीडित परिवारलाई पाँच लाख दिने सहमतिपछि बाटो खुलाइएको मृतकका बाजे हरिशचन्द्र कोलीले बताए ।

मृतक बालककी आमा राजमतीसहित पारिवारिक सल्लाहमै बाटो खुलाइएको उनको भनाइ छ । वडाध्यक्ष रघुवीर बोहराले पनि पीडित परिवारसँग सहमति गरेररै आफूहरूले रकम संकलन गरी जम्मा गरिदिएको बताए । तर मृतककी आमा राजमती कोलीले भने आफूसँग कुनै सल्लाह नभएको दाबी गरिन् । ‘छोराको मृत्यु भएपछि म अर्धचेत अवस्थामा थिएँ, पाँच लाख लिने कुरामा मेरो सहमति थिएन,’ उनले भनिन् ।

बालककी आमा राजमतीले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन खोज्दा दर्ता नभएको बताइन् । उनले जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पाटन पठाएको र त्यहाँ पनि दर्ता नभएपछि हुलाकबाट पठाएको जानकारी दिइन् । प्रहरीले जाहेरी दर्ता नगरेको र मन्त्री पालले प्रहरीलाई दबाब दिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पालिका सभापति करणसिंह बोहराले १७ साउन र कांग्रेस पालिका सभापति जयानन्द जोशीले २७ साउनमा विज्ञप्ति जारी गरी घटनाको छानबिन गर्न माग गरेका थिए । उनीहरूले घटनामा मन्त्री पालको नामसमेत जोडेका थिए ।जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख, प्रहरी निरीक्षक बलराम पाण्डेयले भने घटनास्थल इलाका प्रहरी कार्यालय पाटनको क्षेत्रमा पर्ने भएकाले त्यही जाहेरी दिन पठाएको बताए ।

इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेन्द्र साउदले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘घटना भएकै दिनदेखि हामीले अनुसन्धान गरिरहेका छौ, पीडितहरूको जाहेरी हुलाकबाट प्राप्त भइसकेको छ,’ उनले भने । घटनामा मुछिएका मन्त्री पालले भने बालकको मृत्यु प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताए ।

उनले १७ साउनमा आफू घटनास्थलमा नभई मन्त्रालयकै काममा रहेको भन्दै सामाजिक सञ्जालमा मानमर्दन हुने गरी भएका टिप्पणीले दुःखित तुल्याएको बताए । ‘घटना भएको ठाउँको जमिन हाम्रो हो, त्यहाँ पहिलेदेखि नै निर्माण सामग्री जम्मा गरिएको थियो । बालुवा थुपार्नेे काम कामदारहरूले गरेका होलान्, तर मन्त्री आएर बालुवा थुपारेको भन्ने जस्तो कुरा गरिरहेका छन्, मेरो बालुवा थुपार्ने काम हो र ?’ उनले प्रश्न गरे ।

मन्त्री पालले केही स्थानीय व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारणले आफूमाथि पीडितको परिवारलाई प्रयोग गरी सामाजिक सञ्जालमा गालीगलौज भइरहेको दाबी गरका छन  । घटनालाई लिएर पीडित परिवार मात्रै होईन समाज समेत दुई कित्तामा बाँडिएको छ ।

एकातिर दलित अभियन्ता खगेन्द्र सुनार अर्कातिर मन्त्री सुरेन्द्र पाल पक्षधरले घटना आ–आफु अनुकुल ब्याख्या गर्दै आएपनि समाजिक अभियन्ताहरुले घटनाको निष्पक्ष छानबिन गरेर दोषि उपर कार्बाही र पीडित दलित परिवारको न्यायको माग अघि सारेको छ ।

सम्बन्धित समाचार