आज माघ १६ अर्थात सहिद दिवस। नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि शहादत प्रदान गर्नेहरूको सम्मानमा आज बुधबार शहीद दिवस मनाइँदैछ।
इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतको सम्मानमा आज विविध कार्यक्रमका साथ देशभर शहीद दिवस मनाउने परम्परा छ।
प्रजातन्त्र, नागरिक अधिकार र स्वतन्त्रताको माग गर्दा वि.सं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गलाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन राणा शासकले मृत्युदण्ड दिएका थिए।
आज देश भरी शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम पनि रहेको छ ।विसं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो। माघ १० देखि १६ सम्म शहीद सप्ताह मनाउने चलन पनि छ।

