गणेश जोशी काठमाडौं।शहीद सप्ताहको अवसरमा आज शहीद दशरथ चन्दको स्मृतिमा काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी उहाँको योगदानको सम्झना गरिँदैछ ।
यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पणसहित सम्झना गर्न लागिएको हो ।
दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको ठाउँमा स्तम्भ, अर्ध कदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् ।राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।
हरेक वर्ष माघ १६ गते मनाइने शहीद दिवसले यस्ता बलिदानी व्यक्तिहरूको स्मरण गर्न र उहाँहरूको योगदानको कदर गर्न अवसर प्रदान गर्दछ । शहीद दशरथ चन्दको बलिदान सुदूरपश्चिमका जनताका लागि मात्र नभई, सम्पूर्ण नेपालको इतिहासका लागि अमूल्य सम्पत्ति मानिन्छ ।
शहीद दशरथ चन्द नेपालको प्रजातान्त्रिक आन्दोलनका महत्त्वपूर्ण क्रान्तिकारीमध्ये एक हुनुहुन्छ । वि.सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोट गाउँमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखबाट जन्मिएका थिए दशरथ ।
उहाँलाई “शहीद माइला” भनेर पनि चिनिन्छ ।दशरथ चन्दले बाल्यकालदेखि नै अन्यायविरुद्ध आवाज उठाउने साहस देखाउनुभएको थियो । प्रारम्भिक शिक्षा बैतडीमै पूरा गरेपछि उहाँले उच्च शिक्षाका लागि काठमाडौंको यात्रा गर्नुभयो ।
तर, राणा शासनको अन्यायपूर्ण शासन प्रणालीका कारण शिक्षाका माध्यमबाट परिवर्तन ल्याउन उहाँले ठूलो चुनौती सामना गर्नुभयो ।राणाहरूको अत्याचार, अन्याय र शोषणको नजिकबाट अनुभव गरेका दशरथ चन्दले देशलाई निरंकुश शासनबाट मुक्त गराउने लक्ष्य लिएर क्रान्तिकारी अभियान सञ्चालन गर्नुभएको थियो ।
यस क्रममा उहाँ भारतको बनारसमा पनि पुग्नुभयो, जहाँ उहाँले प्रजातन्त्रवादी विचारधाराबारे थप ज्ञान हासिल गरेको कुरा जानकारिमा आउछ ।शहीद दशरथ चन्दले आफ्ना साथीहरू गङ्गालाल श्रेष्ठलगायतका क्रान्तिकारीहरूसँग मिलेर जनतालाई स्वतन्त्रताका लागि जागरूक बनाउने अभियान सञ्चालन गर्नुभएको थियो ।
तर, राणाहरूले यस आन्दोलनलाई दबाउन खोजेका थिए ।वि.सं. १९९७ माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई काठमाडौँको विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिईएको थियो । उहाँहरूको बलिदानले राणा शासनको क्रूरताबारे जनतामा जागरण ल्याउन मद्दत गर्यो र प्रजातान्त्रिक आन्दोलनको आधारशीला थप बलियो बन्न पुग्यो ।
दशरथ चन्दको योगदानको सम्मानस्वरूप बैतडीको सदरमुकामलाई “दशरथचन्द नगरपालिका” नामाकरण गरिएको छ । साथै, उहाँको जन्मस्थान बस्कोटलाई शहीद भूमि मानिन्छ ।यसरी, शहीद दशरथ चन्दको बलिदान र योगदान नेपाली समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।

