कञ्चनपुर । विभिन्न युवा विद्यार्थी संगठनहरूले कञ्चनपुर महेन्द्रनगर बजारका व्यवसायीहरूको उचित व्यवस्थापनको माग गर्दै विज्ञप्ति जारी गरेका छन्।
व्यवसायीहरूको हकहितको संरक्षण र बजारको सौन्दर्यता कायम राख्न माग गर्दै उनीहरूले भीमदत्त नगरपालिकालाई तत्काल समाधान गर्न चेतावनी दिएका छन्।
विज्ञप्तिमा नगर प्रमुखद्वारा सार्वजनिक कार्यक्रममा “जत्या” शब्द प्रयोग गरिएकोप्रति गम्भीर आपत्ति जनाउँदै उक्त शब्द फिर्ता लिन र माफी माग्न माग गरिएको छ। साथै, व्यवसायीहरूको व्यवस्थापनमा कुनै प्रकारको विभेद नगर्न, कानुनी मापदण्डको पालना गर्दै पारदर्शी र न्यायपूर्ण पुनःस्थापनाको प्रक्रिया बढाउन जोड दिइएको छ।
विज्ञप्तिमा वाईसियल नेपाल कञ्चनपुर जिल्ला संयोजक तिलक जप्रेल, अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष दल ब. धामी, अनेरास्ववियू जिल्ला संयोजक प्रज्वल कुँवर, युवा संघ नेपाल जिल्ला सचिव सरोज बिष्ट, राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन अध्यक्ष कमलेश ब. सिंह, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ जिल्ला अध्यक्ष प्रेम रावल, क्रान्तिकारी युवा संगठन नेपालका प्रतिनिधि तथा अखिल (क्रान्तिकारी) जिल्ला उपाध्यक्ष कृष्ण जोशीलगायतका नेताहरूले हस्ताक्षर गरेका छन्।
विज्ञप्तिमा व्यवसायीहरूको माग तत्काल पूरा गर्न नगरपालिकालाई आग्रह गर्दै, समस्या समाधान नगरे थप संघर्षका कार्यक्रम अघि बढाइने चेतावनी समेत दिइएको छ।

