आइत, जेष्ठ २४, २०८३

चार वर्षदेखि रामबहादुरलाइ बिचपुरि गाउँको जिम्मेवारी


पुजा चौधरी महेन्द्रनगर १२ माघ । कंचनपुरको भिमदत्त नगरपालिका ३ का रामबहादुर चौधरी ४ वर्षदेखि गाउँको नेतृत्व गर्दै आएका छन् ।गाउँवासीले यस वर्ष फेरि चौधरीलाई सर्वसम्मतले बडघर भलमनसाको जिम्मेवारी दिएका छन् ।

थारू गाउँमा बडघर भलमनसाको पदावधि एक वर्षको रहने गरेको छ तर गाउँवासीको मन जित्ने गरी काम गर्दै आएका कारण बिचपुरिका एक भलमनसाले गाउँको नेतृत्व गरेको चार वर्ष पुगेको छ ।गाउँको भुराखेलले उनलाई चौथो पटक बडघर भलमनसा बनाएको स्थानीय उदय चौधरीले जानकारी दिए ।“भलमनसा चौधरीले विगतदेखि नै गाउँमा राम्रो काम गर्दै आएका छन्,” उनले भने, “उनको गाउँको नेतृत्व गर्ने कार्यमा हामी सबैको चित्त बुझेकाले हरेक वर्ष उनलाई नै सर्वसम्मतले भलमनसा चुन्दै आएका छौँ ।”भलमनसाले विकास निर्माणदेखि भोजभतेरमा नेतृत्व गर्ने, गाउँमा मेलमिलाप गराउने, विकास निर्माणको काम बाँडफाँट गर्ने र त्यस कार्यमा जनतालाई खटाउने लगायतका कार्य गर्दै आएका छन् ।

थारू समुदायमा भलमनसाले गरेको कामकारबाही चित्त नबुझेमा एक वर्षमै अर्को भलमनसा चयन गर्न सक्ने अधिकार गाउँवासीमा निहित रहने गर्दछ तर चौधरीले आफ्नोे गाउँवासीको चित्त बुझ्ने गरी काम गर्दै आएकाले उनलाई यस वर्ष फेरि बडघर भलमनसाको जिम्मेवारी दिइँदै आएको छ ।उनी २०७८सालदेखि निरन्तर रूपमा भलमनसाको जिम्मेवारीमा रहँदै आएका छन् । गाउँ समाजमा आफूले निःस्वार्थ रूपमा बिनापारिश्रमिक सेवा गर्दै आएको भलमनसा चौधरीले बताए ।

सम्बन्धित समाचार

Leave a Reply