आइत, जेष्ठ २४, २०८३

बैतडीको भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत बिष्ट मृत फेला


बैतडी। बैतडीको पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा कार्यरत सुरेन्द्र बहादुर बिष्ट मृत फेला परेका छन् । शिक्षालयमा कृषि सहायक प्रशिक्षक पदमा कार्यरत बिष्ट मृत फेला परेका हुन् ।

उपचारका लागि काठमाण्डौं गएका बिष्ट बैतडी फर्कने क्रममा बुटवल उपमहानगरपालिका–७ शिवनगरस्थित सामुदायिक वनमा शुक्रबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उनी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका बताइएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ घर भएका २५ बर्षीय बिष्ट केही दिन अघिमात्रै उपचारका लागि भन्दै काठमाण्डौं गएका थिए । जिल्ला अस्पतालमा चेकजाँच गराउँदा जण्डीसको समस्या देखिएकाले थप उपचारका लागि काठमाण्डौं गएका शिक्षालय प्रमुख जीवन पन्तले बताए ।

शिक्षालयमा कार्यरत एक कुशल प्रशिक्षकको निधनको खबरले शिक्षालय परिवार शोकमा डुबेको छ । घटनाका बिषयमा निष्पक्ष छानबीन गरिदिन परिवारजनले आग्रह गरेका छन् । मृतक बिष्टका घरमा श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । बिष्टको मृत्यु भएपछि उनको घरपरिवार विचल्लीमा परेको छ ।

श्रीमती र नाबालक छोराछोरीको विचल्ली भएको शिक्षालय प्रमुख पन्तले बताए । बिष्ट बुटवलमा मृत फेला परेको जानकारी आएपछि उनका आफन्त र परिवारका सदस्य बुटबल गएका छन् । घटनाका बिषयमा थप जानकारी आउन बाँकी रहेको छ । गाउँको एक जना युवा मृत फेला परेपछि कालागाउँ शोकमा डुबेको छ ।

सम्बन्धित समाचार

Leave a Reply