कञ्चनपुर, माघ २ स्थानीय सरकारका हाकिम र लेखापाल पनि भ्रष्टाचार काण्डमा दोषि ठहर भएका छन ।
अधिकाँस कार्यालय प्रंमुख(हाकिम र लेखापाल)को मिलोमतोमा संस्थागत भ्रष्टाचार हुने विषय निरन्तर आईरहेका बेला एक स्थानीय सरकारका हाकिम र लेखापाल पनि भ्रष्टाचार काण्डमा दोषि ठहर भएका हुन।
विशेष अदालतले सिराहाको नरहा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखापाललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। ६ महिनाअघि दायर मुद्दामा विशेषले ठहर हुने फैसला गरेको हो ।
विशेष अदालतले आइतबार हिनामिना गरेको भन्दै उनीहरूलाई सजायसमेत सुनाएको छ। विशेषले प्रमुख प्रशासकीय अधिकृत भुवेशकुमार झा र लेखापाल सुरेशकुमार कुसियैतलाई जनही ६–६ महिना कैद सजाय सुनाएको हो।
यसैगरी, उनीहरूले बिगो रकम ६ लाख २० हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवानासमेत तिर्नुपर्नेछ । विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो ।
उनीहरूले औषधि खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
आर्थिक वर्ष ०७४÷०७५ मा गाउँ कार्यपालिकाको बैठकबाट निर्णय भई खरिद भएको ५७ प्रकारका औषधिजन्य मालसामानमा अनियमितता भएको दाबी उजुरीमा थियो। यसरी हाकिम र कर्मचारी भ्रष्टाचार काण्डमा मुछिएपछि जनताले समेत पालिका हाकिम र लेखापाल देख्यो कि भ्रष्टाचारको मनोविज्ञान बनाईहाल्ने गरेका छन ।
यी मालसामानको नियमविपरीत भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदनविना नै आपूर्तिकर्ताले पेस गरेको बिलबमोजिमकै भुक्तानी गरिएको थियो। यस विषयमा अनुसन्धान गरी अख्तियारले यसै वर्ष २५ असारमा दुवैजनामाथि मुद्दा चलाएको थियो।
यस प्रकरणमा कुल २२ लाख ६१ हजार रुपैयाँभन्दा बढीको औषधि खरिदको भुक्तानी भएको, तर १६ हजार ४१ लाख बराबरको औषधि मात्र वितरण भएको देखिएको थियो। बाँकी औषधि कहाँ रहेको भनी खुलाउन नसकेको तथा स्टोरमा पनि नभेटिएको विशेषले राय किताबमा उल्लेख गरेको छ ।

