पुजा डगौरा कंचनपुर पुष ११ थारु बस्तीमा यतिबेला माघी पर्वको तयारीको चहलपहल सुरु भएको छ । पश्चिम तराईका बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अधिकांस थारु समुदायका मानिसहरू रहेकाले उक्त क्षेत्रमा यो पर्व विशेष मनाईन्छ ।
पुषको दोस्रो साता देखि माघीको कामकाज सुरु हुने थारु गाउँमा दुना टपरी, ढिक्री र रोटी बनाउन चालम पिस्ने, आगोको चीर बाल्न वनदेखि दाउरा ल्याउने, घर लिपपोत गर्ने, तोरीको तेल पेल्ने, जाँड, रक्सी बनाउने काम भइरहेको छ । बजारदेखि लत्ताकपडा किनमेल गर्ने, तरुल गन्जी खन्ने काम भईरहेको राजिपुरकी जमुना डगौराको भनाई रहेको छ।
डगौराका अनुसार, “बर्ष दिनमा गर्ने कामको योजना बनाउने थारु समुदायले माघी पर्वलाई नयाँवर्षको रूपमा मनाउँदै आएका छन् । ‘जीता मर्ना दिन’ भनेर चिनिने पुसको अन्तिम दिन थारुहरुले सुंगुर काट्ने गर्दछन, साथै ढिक्री बनाउने र यसै रात महँताँवाको घरमा गाउँभरिका सबै भेला भई रात भरि आगो ताप्दै ढुमरु गीत गाउने र आगोको धुनी जगाउने परम्परा थारु समुदायमा रहेको छ ।”
उनले भनिन्, “माघ १ गते बिहानै नजिकको खोला र ताल तलैयामा नुहाइ घर फर्केपछि चामल, नुन र मासको दाल ‘निश्राउ’ दाजुभाईले दिदीबहिनीलाई दिने परम्परा छ ।”
यसै गरी उक्त महिना नयाँ घरको थालनी गर्ने गाउँको महँताँवा चुन्ने, अशंबण्डा गर्ने, अधिया लगाउन जग्गा जमिन थाम्ने, नहर पानीको चौकिदार राख्ने र देवीदेवताको पूजापाठ कसले गर्ने भन्ने समेत जिम्मेवारी यसै दिन दिईने थारु अगुवा चन्दर चौधरीको भनाई छ ।
थारु समुदायले जमिन्दारको जग्गा जोते वाफत छोरी चेलीलाई कम्लहरी बसाल्न नपाईने कानुनी ब्यवस्था बनेपछि हिजोआज छोरी चेलीले यसबाट मुक्ति पाएको थारु समुदायका अगुवाहरूको भनाइ रहेको छ ।


