माधव पौडेल महेन्द्रनगर । बेलौरीमा सोमबारदेखि तेस्रो बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघले “कृषि, पर्यटन, उद्योग र व्यापार सम्बद्ध बेलौरी आधार” भन्ने नाराका साथ पुस ८ देखि पुस १७ गतेसम्म बेलौरी खुला मञ्चमा महोत्सव गर्न लागेको हो ।
बेलौरी नगरपालिकाको सह आयोजक रहने महोत्सवको लक्ष्य कृषि, उद्योग, व्यापार र पर्यटन क्षेत्रको विकास गर्दै स्थानीय स्तर उत्पादन र संस्कृतिको प्रवद्र्धन गर्ने रहेको छ ।बेलौरी उद्योग वाणिज्य संघले पत्रकार सम्मेलन गरी महोत्सव तयारीबारे जानकारी गराएको छ । संघका अध्यक्ष हिरासिंह बिष्टले महोत्सवका विभिन्न पक्षबारे प्रकाश पार्दै महोत्सवलाई अझ व्यापक र व्यवस्थित गरिएको बताए ।
महोत्सव सञ्चालनका लागि उद्योग वाणिज्य संघले राजनीतिक दल सहित सरोकारवाला पक्षसँग निरन्तर छलफल चलाइरहेको छ। महोत्सव सञ्चालनका लागि करिब २० लाख रुपैयाँको अनुमानित बजेट रहेको महोत्सवले स्थानीय किसान, व्यवसायी, उद्योगी, र सांस्कृतिक समूहलाई आफ्नो उत्पादन, कला र सीप प्रदर्शन गर्न विशेष प्लेटफर्म प्रदान गर्ने बताउँदै महोत्सवमा ९० वटा स्टल राखिनेछ ।
यी स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकला,औद्योगिक सामग्री, र आधुनिक प्रविधि प्रदर्शनी स्थानीय किसानहरूले आफ्ना जैविक उत्पादनहरू प्रदर्शनीमा राख्ने अवसर पाउनेछन् भने आधुनिक कृषि उपकरण र प्रविधिहरूको प्रयोगसम्बन्धी जानकारीसमेत गराइनेछ।महोत्सवको अर्को मुख्य आकर्षण स्थानीय संस्कृति झल्किने कार्यक्रमहरू हुन्।
स्थानीय कलाकार एवं राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ।बेलौरी उद्योग वाणिज्य सङ्घ आबद्ध व्यापारीहरूलाई स्थल बुकिङमा विशेष प्राथमिकता दिइने बताउँदै स्टल शुल्क, प्रवेश शुल्क, प्रायोजन र सरकारी तथा गैरसरकारी निकायको सहयोग प्रमुख आयका स्रोत हुनेछन् । महोत्सवले व्यापारिक सहकार्य र नेटवर्किङका लागि नयाँ अवसर सिर्जना गर्ने विश्वास पनि व्यक्त गर्दै महोत्सवमा सबै क्षेत्रका नागरिक, व्यवसायी, र किसानहरूलाई सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेका छन् ।
महोत्सवले बेलौरीको पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा फैलाउने मात्र नभई स्थानीय समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ। महोत्सवले स्थानीय उत्पादन, कला, र संस्कृतिको प्रवर्द्धन गर्दै कृषि, उद्योग, र पर्यटनको क्षेत्रमा नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।
आयोजक समितिले महोत्सवमा उपस्थितिका लागि हार्दिक अपिल गरेको छ।महोत्सव अवलोकनका लागि आम सर्वसाधारणका लागि १ सय रुपैँया, विद्यार्थीहरूका लागि ६० रुपैयाँ र ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूका लागि प्रवेश शुल्क निःशुल्क गरिएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताए ।

