काठमाडौं- जिल्ला प्रहरी कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्रको तस्बीर सार्वजनिक गर्नेलाई कानुन अनुसार कारबाही हुने बताएको छ ।
प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोहीलाई कारबाही हुने बताएको हो ।
प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बसन्तकुमार शर्माद्वारा जारी विज्ञप्तिमा ‘सूचनाको हक सम्बन्धी ऐन, २०६४ मा व्यवस्था भए बमोजिम अपराध अनुसन्धान, तहकिकात तथा अभियोजनमा गोपनियता कायम गर्नुपर्ने व्यवस्था र प्रचलित साइबर अपराध सम्बन्धी कानुनी प्रावधानलाई समेत उल्लंघन गरी अनधिकृत रुपमा सामाग्री प्रकाशन तथा सम्प्रेषण गर्ने कार्यमा संलग्न रहेका जो कोही व्यक्तिलाई पनि कानुनी दायरामा ल्याई कानुन बमोजिम अनुसन्धान तथा कारबाही गरिने,’ भनिएको छ ।
यस्तै, गृहमन्त्री रमेश लेखकले लामिछानेको तस्बीर सार्वजनिक गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएका छन् ।
रास्वपा समर्थक डा. निकोलस भुसालले तस्बीर आफूले खिचेको दाबी गरेका छन् । भुसालले उक्त फोटो आफैंले सार्वजनिक गरेको भन्दै सामाजिक सञ्जालमार्फत माफी मागेका थिए । हिरासतमा रहेका लामिछानेको भनिएको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।

