कञ्चनपुर, पुष ४सुदूरपश्चिम प्रदेशमा विवाह गर्दै सम्बन्ध विच्छेद गर्नेको संख्या बढिरहेको छ । तीन वर्षको अवधिमा सुदूरपश्चिममा दुई हजार ८६२ जनाले सम्बन्ध विच्छेदका लागि अदालतमा फिराद दर्ता गरेका छन्।
आर्थिक वर्ष ०८०÷०८१ एक हजार ९६ जनाले सम्बन्ध विच्छेद गरि पाउँ भन्दै अदालतमा फिराद दर्ता गरेका हुन्। यस्तै, आर्थिक वर्ष २०७९÷८० मा ९७० र आर्थिक वर्ष ०७८र७९ मा ७९६ जनाले सम्बन्ध विच्छेद लागि मुद्दा दर्ता गरेका थिए।कैलाली जिल्ला अदालतमा तीन वर्षको अवधिमा एक हजार ४१२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन्।
सम्बन्ध विच्छेद गर्नेमा कैलाली जिल्ला सबैभन्दा अग्रस्थानमा देखिएको छ। जसमध्ये एक हजार ४८ महिलाहरूले सम्बन्ध विच्छेद गरी पाउन निवेदन दिएका छन्। यस्तै तीन वर्षको अवधिमा बैतडी जिल्ला अदालतमा सम्बन्ध विच्छेदका ६८ मुद्दा दर्ता भएका छन।
बाजुरा जिल्ला अदालतमा ९३, डडेल्धुरा जिल्ला अदालतमा महिलाका तर्फबाट ७८ र पुरुषका तर्फबाट ५६ गरी १३४ फिराद दर्ता भएका छन । डोटीमा ५१ महिला र ३१ पुरुषले गरी ८२ जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन । अछाम जिल्ला अदालतमा ६१ महिला र २८ पुरुष गरी ८९ जनाले सम्बन्ध विच्छेद गरिपाउँ भन्दै फिराद दर्ता गरेका छन ।
यस्तै, विगत तीन वर्षको अवधिमा बझाङ जिल्ला अदालतमा महिला ५६ र पुरुष ४८ गरी एक सय चार जनाले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन । दार्चुला जिल्ला अदालतमा सो अवधिमा एक सय २७ फिराद दर्ता भएका छन । यीमध्ये ८६ महिला फिरादी रहेका छन ।
कञ्चनपुर जिल्ला अदालतमा ७५३ सम्बन्ध विच्छेदका मुद्दाहरु दर्ता भएको जनाईएको छ । यसरी विवाह गर्दै सम्बन्ध विच्छेदले समग्र समाजिक सरचनामै प्रभाव परेको समाजिक अभियन्ताहरुको चिन्ता छ ।

