महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले युवा उद्यमीलाई आकर्षित गर्न मेयर उद्यमशिलता कार्यक्रम बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रम अहिले सञ्चालनमा नभएको जानकारी दिएको छ् ।
२०७७ सालमा भीमदत्त नगरपालिका र नेपाल राष्ट्रिय बैंक लिमिटेडको आपसी समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रम हाल सञ्चालनमा नभएको नेपाल राष्ट्रिय बैंक र नगरपालिकाले जानकारी दिएको हो । अहिले उत्पादित सामग्रीको बजारीकरणमा बिचौलियाको बिगबिगी बढेसंगै बजारमा मूल्य समायोजन नहुँदा कृषि उपजले राम्रो बजार पाउन समेत सकेका छैनन् ।
आफूले सञ्चालन गरेको परियोजनाको बिमा नहुँदा युवा उद्यमीहरूको लगानी जोखिममा पर्दै गएको छ् । कोरोनाको महामारीले सबै किसिमका उद्यम व्यवसाय धराशायी बनेका छन् भने, महामारीको समयमा साना तथा मझौला व्यवसायीहरू सबैभन्दा बढी मारमा परेका कञ्चनपुरका युवा उद्यमीले बताएका छन् ।
त्यसैगरी नेपाल राष्ट्रिय बैंकको तथ्यांकका अनुसार २०७७ सालमा नगरपालिकाले सञ्चालन गरेको बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रममा युवा उद्यमीहरूलाई आकर्षित गर्न भीमदत्त नगरपालिकाले २ करोड ३ लाख रुपैयाँ बिना ब्याज, बिना धितोको अनुदान तथा सहुलियत ऋण युवा उद्यमीहरूलाई दिएको जनाएको छ् ।
नेपाल राष्ट्रिय बैंक लिमिटेडका शाखा प्रबन्धक महेशराज जोशीले उद्यमीहरूका लागि निकालिएको बिना ब्याज र धितोको ऋण युवा उद्यमीकर्ताहरूले नतिरे पछि त्यसको खण्डमा भीमदत्त नगरपालिकाले सबै पैसा तिर्नु पर्ने अवस्था सिर्जना भएका कारणले गर्दा हाल उक्त कार्यक्रम सञ्चालनमा हुन नसकेको बताएका छन् ।
शाखा प्रबन्धक जोशीका अनुसार नगरपालिका र राष्ट्रिय बैंक लिमिटेडको समन्वयमा सञ्चालन गरिएको उक्त कार्यक्रमबाट भीमदत्त नगरपालिका भित्र रहेका जम्मै वडाहरूका प्रत्येक युवा उद्यमीकर्ताहरूलाई वडा कार्यालयले सिफारिस गरे अनुसार बिना ब्याज र धितोमा २३ जना युवा उद्यमीहरूलाई तीन महिनामा ३३ हजार रुपैयाँ किस्ता मात्र तिर्ने गरी प्रत्येक उद्यमीकर्ताहरूलाई ५-५ लाख रुपैयाँ ऋण दिइएको थियो ।
तर, ऋण लगेपछि कुनै-कुनै उद्यमीहरूले किस्ता समेत तिर्न अटेरी गरेपछि उक्त ऋण भीमदत्त नगरपालिकाले नै तिर्दै आएको छ् । त्यसैगरी नेपाल राष्ट्रिय बैंक लिमिटेडको तथ्यांकका अनुसार माछा पालन देखि बंगुर, कुखुरा, बाख्रा, भैंसी, केरा तथा कृषि खेतीका लागि १२ जना युवा उद्यमीहरूलाई ७६ लाख रुपैयाँ ऋण दिइएको देखाएको छ् भने, दुध डेरी उद्योग सञ्चालनका लागि ५ लाख, साइकल स्टोर सञ्चालनका लागि ५ लाख, फर्निचर उद्योग सञ्चालनका लागि ५ लाख, सान हाउस सञ्चालनका लागि ५ लाख, इन्जिनियरिङ कार्याशाला सञ्चालनका लागि ५ लाख, सपिङ सेन्टर सञ्चालनका लागि ५ लाख, कस्मेटिक पसल सञ्चालनका लागि ५ लाख, सिलाई कटाई तथा पेन्टिङ सञ्चालनका लागि ५ लाख, फोटो स्टुडियो सञ्चालनका लागि ५ लाख र मोवाईल तथा गिफ्ट ग्यालरी सञ्चालनका लागि ५ लाख रुपैयाँ ऋण दिइएको राष्ट्रिय बैंकको तथ्यांकले जानकारी दिएको छ् ।
२ करोड ३ लाख रुपैयाँ निकालिएको ऋणबाट अहिलेसम्म ९२ लाख १ हजार ३ सय १४ रुपैयाँ मात्र उद्यमीहरूले चुक्ता गरेका छन् भने, १ कराेड १० लाख ९८ हजार ६ सय ८५ रुपैयाँ ऋण चुक्ता गर्न नै बाँकि रहेको शाखा प्रबन्धक जोशीले बताएका छन् ।
स्थानीय सरकारले बिना धितो, बिना ब्याज भनी दिएको ऋणको उद्यमीकर्ताले ब्याज तिर्दै
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-९ की महिला उद्यमीकर्ता मिना देवि कार्की विगत आठ वर्ष देखि मिना पोल्ट्री फार्म सञ्चालन गर्दै आइरहेकी छन् । नगरपालिकाले सञ्चालन गरेको मेयर उद्यमशिलता कार्यक्रम बिना धितो, बिना ब्याज अनुदान ऋण सहुलियत कार्यक्रममा कुखुरा फार्मका लागि ५ लाख रुपैयाँ ऋण निकालेको उनले बताइन् ।
‘२०७४ सालमा सञ्चालन गरिएको मिना पोल्ट्री फार्ममा हालसम्म ३५ देखि ४० लाख रुपैयाँ भन्दा बढी लगानि लागि सकेको छ्, उनले भनिन्, ‘नगरपालिकाले उद्यमीकर्ताहरूको सहजताका लागि सञ्चालन गरेको उक्त कार्यक्रममाबाट २०७७ सालमा ५ लाख रुपैयाँ बिना ब्याज, बिना धितोको ऋण निकालेको थिए । ऋण निकालेको दिन देखि तीन-तीन महिनामा ३३ हजार रुपैयाँ किस्ता तिर्दै आएता पनि अहिलेसम्म समेत नेपाल राष्ट्रिय बैंकले ऋण चुक्ता नै नभएको बताउँछ ।’
महिना उद्यमी कार्कीका अनुसार नगरपालिकाले बिना धितो, बिना ब्याज भनी दिएको ऋणको अहिले ब्याज तिर्नु परिरहेको छ् । ‘५ लाख रुपैयाँ ऋणको वार्षिक १ लाख ५० हजार रुपैयाँ ब्याज तिर्दै आइरहेकी छु, उनले भनिन्, ‘उतिखेर नगरपालिकाले बिना धितो, बिना ब्याजको ऋण भनि उद्यमीकर्ताहरूलाई पैसा दिएको थियो तर, अहिले त्यही पैसाको ब्याज तिर्दै आइरहेकी छु, जति नै किस्ता र ब्याज तिर्दै आएता पनि नेपाल राष्ट्रिय बैंकले अझै पनि पैसा तिर्नु नै बाँकि रहेको बताइ रहन्छ ।’ त्यसैगरी महिला उद्यमी कार्कीले हाल दुई कुखुरा फार्म सञ्चालन गर्दै आइरहेकी छन् ।
दुई फार्ममा उनले ६-६ सय चल्ला गरी जम्मा १२ सय कुखुराका चल्लाहरू हाल्ने गरेकी छन् भने, १२ सय कुखुराका चल्लाका ६० हजार रुपैयाँ पर्ने गरेको उनले बताएकी छन् । चल्लाहरूका लागि कञ्चनपुरको महेन्द्रनगर बजारबाट नै चारो ल्याउने गरेको उनि बताउँछिन् ।
कार्कीको उक्त उद्यममा उनका छोराहरूले सहयोग गर्दै आइरहेका छन् । फार्मबाट राम्रो आम्दानी कमाउन नसकेता पनि एउटा महिलाले राम्रो संग घर खर्च देखि लिएर छोराछोरीहरूको पढाईको लागि आर्थिक सहयोग निकै राम्रो संग हुने गरेको कार्कीले बताएकी छन् । कार्कीका अनुसार उक्त उद्यमका लागि अहिलेसम्म स्थानीय सरकारले कुनै पनि अनुदान दिएको छैन् । ब्यवसायमा लागे संगै उनको दैनिकी पनि निकै ब्यस्त रहेको छ् ।
फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनको योजना रहेको छ् । ‘गर्न सके जागिर खानु पर्दो रहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ, उनले भनिन्, ‘ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरेता पनि अहिलेसम्म कतैबाट पनि सहयोग पाएको छैन् ।
नगरपालिकाबाट निकालेको ऋणले गर्दा नराम्रो संग डुबेको छु । स्थानीय सरकारले सोझा साझा जनताहरूलाई नराम्रो संग ठगेको गुनासो उनले गरेकी छिन् ।’ त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ का युवा उद्यमी प्रेम बिष्ट विगत लामो समयदेखि सुमन पोल्ट्री फार्म सञ्चालन गर्दै आइरहेका छन् । विदेशको रहर त्यागेर व्यावसायिक कुखुरा पालनमा लागे उनि अहिले व्यवसाय राम्रो संग फस्टाउन नसकेको भन्दै दुखेसो पोखेका छन् ।
‘गत वर्ष आएको बाढि र गत महिनामा आएको बाढीले आफ्नो व्यवसाय सखाप भएको छ्, उनले भने, ‘गत वर्ष पनि निरन्तर आएको बाढि र पहिरोले गर्दा पुरै चल्लाहरू बगाएर लग्दा ३ देखि ४ लाख रुपैयाँ सम्मको नोक्सानी बेहोर्नु परेको थियो भने, यसपालि समेत बाढिले पुरै नोक्सानी गर्दा त्यती नै नोक्सानी भएको छ् ।
नगरपालिकाले युवा उद्यमीहरूको लाई सञ्चालन गरेको कार्यक्रममाबाट पाँच लाख रुपैयाँ ऋण निकालेता पनि आफ्नो व्यावसायमा कुनै सहयोग पुगेन ।’ बिष्टका अनुसार नगरपालिका र नेपाल बैंकको समन्वयमा दिएको ऋण तिर्न नसक्दा नगरपालिका देखि पटक-पटक घरमै पुगेर धम्क्याउने गर्ने गर्दछन् ।
‘बाढिले गत वर्ष आफ्नो पोल्ट्री फार्म नै बाढिले बगाएर लग्दा समेत नगरपालिकाबाट कुनै साथ सहयोग र अनुदान पाएन, उनले भने, ‘यस वर्ष पनि बाढिले आफ्नो पुरै क्षेत्रि गर्यो, नगरपालिकामा अनुदानको लागि पहल गर्दा अनुदानको नाममा जम्मा ८ हजार रुपैयाँ मात्र दिएयो । आफ्नो ४ लाख रुपैयाँको क्षेति हुँदा नगरपालिकाले दिएको ८ हजारले मात्र के गर्थे? नगरपालिकाले त्यो ८ हजार रुपैयाँ पनि खातामा नै हालेको थियो भने, त्यो पैसा निकालेको समेत छैन अहिलेसम्म पनि खातामा नै रहेको बिष्टले बताएका छन् ।’
बिष्टका अनुसार पोल्ट्री फार्मको बिमामा कुरा गर्दा समेत बिमाबाट पनि कुनै राहत मिलेन । बिमाबाट पैसा माग्दा प्रक्रिया धेरै लामो गर्नु पर्ने तर, पैसा चल्लाहरूको मात्रै दिने कुरा गरेपछि त्यसको पछि पनि नलागेको कुरा बिष्टले बताएका छन् ।
लगानी सुरक्षाको लागि सही मूल्य, बजार व्यवस्थापनसहित सरकारी निकायबाट अनुदान र प्राविधिक सहयोग नपाउँदा युवा उद्यमीहरू मारमा पर्न थालेको छन् । युवा उद्यमीहरूको लागि स्थानीय सरकारले उचित व्यवस्थापन र सहयोग पाउनुपर्ने युवा उद्यमीहरूले माग गरेका छन् ।
नगरपालिकाबाटै ऋण निकालेका डेरी सञ्चालक
त्यसैगरी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का युवा उद्यमी यज्ञराज पन्त विगत १० वर्ष देखि डेरी उद्योग सञ्चालन गर्दै आइरहेका छन् । २०७२ सालमा सञ्चालन गरेको गोवर्धन डेरी उद्योगमा हालसम्म ३० देखि ३५ लाख रुपैयाँ लगानी लागि सकेको उनि बताउँछन् ।
‘उक्त डेरी उद्योगका लागि भीमदत्त नगरपालिकाले सञ्चालन गरेको युवा उद्यमीकर्ताहरूका लागि मेयर उद्यमशिलता कार्यक्रमबाट ५ लाख रुपैयाँ ऋण निकालेको थिए, उनले भने,’पारिवारिक समस्या र आर्थिक स्थितिको कारणले गर्दा राम्रो संग व्यवसाय फस्टाउन नसक्दा डेरी उद्योग समेत धरातलमा डुबेको पन्तले बताएका छन् ।’
पन्तका अनुसार डेरी उद्योग सञ्चालनका लागि जिल्ला भेटेनरीले मात्र २० देखि ३० हजार रुपैयाँ अनुदान दिने गरेको छ् । तर, स्थानीय सरकार संग अनुदानको लागि पहल गर्दा समेत कुनै सहयोग पाइएको छैन् ।
नगरपालिकाबाट दिएको ऋण समेत छिटो चुक्ता गर भनी बारम्बार यातना दिने गरेको पन्तले बताएका छन् । यहाँबाट गाईको दुध र भैँसीको दुध बिक्री वितरण गरिने गरिन्छ । पन्तले भने बजारमा गाईको दुधभन्दा भैँसीको दुधको माग बढी हुने गर्छ । तर, दुध अभावमा पनि दैनिक झण्डै एक हजार लिटर मात्र प्रशोधन गरेर बिक्री गरेका छौं । जिल्लामा दुध उत्पादन कम भएकाले दुध पाउन नै समस्या छ् भने, अहिले परम्परागत रुपमा मानिसहरूले घरमै पुर्याउने गरेको ‘काँचो दूध’ खरिद गर्न मन पराउँने गरेका छन् । ‘दुधका आम उपभोक्तालाई प्रशोधित दुधको महत्व र काँचो दुधले पुर्याउने हानीबारे सचेतना जगाउन सकिएन भने डेरी उद्योग उभो लाग्न सक्दैन, उनले भने, ‘दुध उत्पादन बढाउनेदेखि गुणस्तरीय चीज उत्पादन, बजार विस्तार, उद्योग प्रति किसान आकर्षित गर्न निकै पसिना नबगाई सफल बन्न नसकिदो रहेछ ।
कोरोना महामारी र लकडाउनको समयमा बिक्रिमा समस्या हुने भएपछि उद्योग सञ्चालन गरेनन् । अहिले आएर डेरी उद्योगबाट आफुले सोचे जस्तो नाफा भने कमाउन नसकिएको पन्तले बताएका छन् ।’ भीमदत्त नगरपालिकाको सामाजिक विकासका अधिकृत गोमती अवस्थीले नगरपालिकाले सञ्चालन गरेको मेयर उद्यमशिलता कार्यक्रम बिना धितो र बिना ब्याजको नै ऋण भएको दाबि गरेकी छिन् ।
‘ऋण लगेका सेवाग्राहीहरूले अहिलेसम्म कुनै पनि गुनासो गरेका छैनन्, उनले भनिन्, ‘हामीले ऋण दिएका कुनै पनि युवा उद्यमीहरूबाट ब्याज लिएका छैनौं, तर, नगरपालिकाबाट ऋण निकालेर लगेका उद्यमीहरूले किस्ता तिर्न समेत अटेरी गरेपछि भीमदत्त नगरपालिकाले नै पेनाल्टी गरेर पैसा तिर्दै आएको छ् । ऋण लगेका उद्यमीहरूलाई किस्ता तिर्नु पर्छ भनेर भेट्न जाँदा उल्टै आफुलाई नै धम्की दिने गरेको अधिकृत अवस्थीले बताएकी छिन् ।’
फोटो : महिला युवा उद्यमी


