काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले पहिलो हार बेहोरेको छ । लगातार ४ खेलमा जित निकालेको जनकपुर पाचौं खेलमा सुदुरपश्चिम रोयल्ससँग ७२ रनले पराजित हुन पुग्यो ।सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याएको जनकपुर १२ ओभर एक बलमा ५१ रनमा समेटिएको हो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह र इशान पाण्डेले दुईदुई, सैफ अली जैव, स्कट कुगेलेइन र नरेन साउदले एकएक विकेट लिए । सुदूरपश्चिमका कुनै पनि बलर विकेटविहीन भएनन् ।जनकपुरका जोसुआ ट्रोम्पले सर्वाधिक १३ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । जनकपुर ओपनर अनिलकुमार शाह शुन्य, आसिफ शेख ४, लाहिरु मिलान्था ७, हर्ष थाकर ५, जिमी निशम ४, अरनिको यादव १, शेर मल्ल ०, ललित राजवंशी ४ र शुभ कंशाकार ० रनमा आउट भए । किशोर महत्तो शुन्य रनमा अविजित रहे । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रनमा रोकिएको थियो ।सुदूरपश्चिमका ओपनर विनोद भण्डारीले ३३ रनको योगदान दिए । उनी र सैफ अली जैबसँग पहिलो विकेटका लागि ५५ रनको साझेदारी गरेका थिए । सैफ २१ बलमा २१ रनमा आउट भएका थिए । त्यसपछि ठूलो साझेदारी हुन नसक्दा सुदूरपश्चिम सस्तोमै रोकिएको हो ।सुदूरपश्चिमका हर्मित सिंह १, ब्रान्डन म्याकमुलेन ११, स्कट कुगेलेइन आरिफ शेख ६, नरेन साउद ३, कप्तान दीपेन्द्रसिंह ऐरी ०, इशान पाण्डे १७ रनमा आउट भए । अभिनास बोहरा २ र नरेश बुढाएर ९ रनमा अविजित रहे ।बलिङमा नेपाली बलर हाबी भए । नेपालका किशोर महत्तोले ४, अरनिको यादव र शेर मल्लले २–२ विकेट लिए । क्यानडाका हर्ष थाकरले एक विकेट लिए । ४ ओभर बलिङ गरेका किशोरले रन खर्चेर विकेट लिए ।

