झलारी ,नेकपा माओवादी केन्द्रको वडा नम्बर ११ मा अमरबहादुर ऐर अध्यक्ष भएका छन्। शनिबार भएको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा सर्वसहमतिबाट ऐरको अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको छ।
नेकपा माओवादी केन्द्रको पार्टी सुदृढीकरणको अभियान अन्तर्गत शुक्लाफाटा नगरपालिकाको वडा नम्बर ११ मा वडा सम्मेलन सम्पन्न गरिएको शुक्लाफाटा नगर कमिटीका सचिव दीपकराज भट्टले बताउनुभयो । शनिबार भएको दोस्रो वडा सम्मेलनबाट सचिवमा प्रकाश सार्की, उपाध्यक्षमा लालबहादुर कामी, सह सचिवमा राजेन्द्र प्रसाद भट्ट र कोषाध्यक्षमा गङ्गा सार्की लगायतका २१ सदस्य कमिटी गठन गरिएको छ।
अमरपुरमा भएको दोस्रो वडा सम्मेलनमा प्रमुख अतिथि अभियानका नगर इन्चार्ज तथा केन्द्रीय सदस्य गोविन्द बिक रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य टेकेन्द्र प्रसाद भट्ट प्रदेश कमिटी सदस्य नवराज ऐर दुर्गा जोशी र खडक सिंह साउद, प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज ईश्वर सुनार लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोविन्द बिकले माओवादी केन्द्रको नेतृत्वमा भएको आन्दोलनले ल्याएका उपलब्धिहरूलाई संस्थागत गर्न सबै जनसमुदायलाई पार्टीमा संगठित हुन अपिल गर्नुभयो। उहाँले नेकपा माओवादी केन्द्रले भ्रष्टाचारका विरुद्धमा र सुशासनका पक्षमा गरेको कामहरूको प्रशंसा गर्दै अझै पार्टीप्रति विश्वास बढेको बताउनुभयो ।
यस्तै कार्यक्रममा विशिष्ट अतिथि पार्टीका केन्द्रीय सदस्य टेकेन्द्र भट्टले पछिल्ला देशका घटनाक्रमहरूले नेकपा माओवादी केन्द्रप्रति जनविश्वास थप बढेको बताउनुभयो । उहाँले माओवादीको नेतृत्वमा सबैलाई संगठित हुन अनुरोध गर्नुभयो।
कार्यक्रममा प्रदेश कमिटी सदस्य नवराज ऐरले नेकपा माओवादी केन्द्रले गरेको जनपक्षीय कामहरूलाई जनताले रुचाएको र पार्टी संगठन निर्माणले पार्टी सशक्त बनाउन मद्दत पुग्ने बताउनुभयो। युवा नेता ऐर वर्तमान सरकारले भ्रष्टाचारीहरूको संरक्षण गरेको बताउँदै सुशासन र जनपक्षीय कामका लागि आफूहरूले खबरदारी गर्ने बताउनुभयो।पार्टी स्वतन्त्रीकरण अभियान अन्तर्गत सबै वडाहरूमा माओवादीले वडा सम्मेलनहरू गरिरहेको छ।

