बिहि, जेष्ठ २१, २०८३

कञ्चनपुरको वेदकोटमा रामलीला सुरु


कञ्चनपुर।कञ्चनपुरको वेदकोटमा मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जीवनमा आधारित रामलीला महोत्सव सुरु भएको छ ।

लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सच्चरित्रका लागि बुधबार साँझदेखि वेदकोट नगरपालिका वडा नम्बर ८ को वडा कार्यालय परिसर गैलनदीमा रामलीला महोत्सव सञ्चालन गरिएको हो ।

श्री वैजनाथ सिद्धनाथ रामलीला समिति वेदकोट ८ गैलनदी तथा श्री निङ्गलाशैनी जगन्नाथ रामलीला समिति कञ्चनपुरको मुख्य सहकार्यमा रामलीला महोत्सव आयोजना गरिएको वेदकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष महेश राज जोशीले जानकारी दिनुभयो । रामलीला महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले उद्घाटन गर्नुभयो ।

त्यसक्रममा मन्त्री लेखकले पछिल्लो समयमा लागुऔषध दुर्व्यसन, आत्महत्या, अश्लीलता तथा सामाजिक सद्भाव विथोल्ने जस्ता गतिविधि बढेकोमा चिन्ता व्यक्त गर्दै ती समस्या समाधानका लागि हरेक नागरिक मर्यादित हुनुपर्नेमा जोड दिनुभयो ।

रामलीला उद्घाटन समारोहमा प्रदेश सांसद एवं पूर्वमन्त्री प्रकाश रावल, पूर्वसभामुख भोजराज जोशी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा र नगर उपप्रमुख तुलसीदेवी जोशी लगायतले सम्बोधन गर्दै रामलीला मञ्चनबाट ज्ञान हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

उद्घाटन समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा लगायतका कर्मचारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, स्थानीय जनप्रतिनिधिहरू, पत्रकार, कलाकार तथा भक्तजनहरूको उपस्थिति रहेको थियोे ।

त्यसक्रममा ज्येष्ठ नागरिक लगायत सामाजिक विकासमा योगदान पुर्‍याउनु भएका विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको वडाध्यक्ष जोशीले बताउनुभयो । आजैदेखि रामलीला मञ्चन समेत सुरु गरिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Leave a Reply