२०८३ कार्तिक ९, सोमवार

धनगढी र राजापुरमा थारू गीतसँगीतको इतिहासको पहिलो ब्यान्ड ‘आरके थारू एन्ड सङ्हाती’को ऐतिहासिक साङ्गीतिक कन्सर्ट हुने


काठमाडौँ — “संस्कृतिको झन्कारसँगै मानव सेवा र परोपकार” भन्ने मूल नाराका साथ नेपालीहरूको महान् पर्व बडा दसैँको अवसरमा रसुवाका बाढीपीडितहरूको सहयोगार्थ कैलाली र बर्दियामा भव्य साङ्गीतिक कार्यक्रम आयोजना हुने भएको छ । थारू गीतसँगीतको इतिहासमै पहिलो ब्यान्डको रूपमा स्थापित ‘आरके थारू एन्ड सङ्हाती’ले दसैँको अवसर पारेर ‘दसैँ कल्चरल फेस्ट २०८३’ मार्फत साङ्गीतिक कार्यक्रम मार्फत परोपकारी यात्रा सञ्चालन गर्न लागेको हो ।

मिटस घोगी स्टेसन काठमाडौँको आयोजनामा पहिलो पटक कैलालीको धनगढीस्थित खुला मञ्च, चकमेलीमा आगामी असोज ३१ गते थारू लाइभ कन्सर्ट हुनेछ। कैलालीको धनगढीमा पहिलो पटक वृहत् रूपमा थारू लाइभ# कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । धनगढीमा कन्सर्ट सम्पन्न भएलगत्तै टोली बर्दिया पुग्नेछ । बर्दियाको राजापुरस्थित डायमण्ड होटेल एन्ड पार्टी प्यालेसमा कार्तिक २ गते दोस्रो चरणको साङ्गीतिक कन्सर्ट आयोजना गर्नेछ ।

कन्सर्टमा ‘आरके थारू एन्ड सङ्हाती’ ब्यान्डको प्रत्यक्ष लाइभ साङ्गीतिक प्रस्तुति मुख्य आकर्षणको रूपमा रहनेछ । यसका साथै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरू चर्चित गायिका समीक्षा चौधरी, गायिका आरजु चौधरी, मोडल मधु चौधरी, गायक, उद्घोषक तथा मोडल अनुप मगर, मोडल तथा निर्देशक आदर्श महतो र मोडल तथा कलाकार रूणी/दीपिकाको विशेष प्रस्तुति समेत रहनेछ ।

कन्सर्टमा कैलाली र बर्दियाका स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुतिसँगै थारू संस्कृतिका विविध झाँकीहरू समेत प्रदर्शन गरिनेछ ।हालै रसुवामा आएको महाविपत बाढीबाट पीडितहरुको राहत एवं पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कन्सर्ट गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

यो च्यारिटी इभेन्टको टिकट इसेवा मार्फत खुला अनलाइन मार्फत खरिद गर्न सकिनेछ । सांस्कृतिक मनोरञ्जनका साथै संकटमा परेका नागरिकहरूलाई सहयोग पुर्‍याउने यो सामाजिक अभियान भएकाले सम्पूर्ण कलाप्रेमी तथा महानुभावहरूलाई उपस्थित भई कार्यक्रम सफल बनाइदिन आयोजकले अपिल गरेको छ ।

सम्बन्धित समाचार