आदित्य जोशी ,कञ्चनपुर — भीमदत्त नगरपालिका–१८ स्थित गौरा मन्दिर नजिक बुधबार राति करिब ९ः४० बजे बाघ देखापरेपछि स्थानीयवासी त्रसित बनेका छन्।स्थानीयका अनुसार बाघले योगेश जोशीको कुकुरलाई आक्रमण गरी गम्भीर घाइते बनाएको छ।
बाघ देखापरेको क्षेत्र अँध्यारो रहेको तथा सडकबत्तीको समेत पर्याप्त व्यवस्था नभएकाले रातिको समयमा आवतजावत गर्ने स्थानीय थप जोखिममा परेका छन्।स्थानीयवासीले उक्त क्षेत्रमा सडकबत्तीको व्यवस्था गर्न तथा बाटोको जीर्ण अवस्थासमेत सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
बस्ती नजिकै बाघ देखापरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीयलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।बाघ देखिएको स्थान आसपास रातिको समयमा एक्लै हिँडडुल नगर्न, बालबालिका तथा वृद्धवृद्धालाई विशेष सावधानी अपनाउन र बाघ देखिएमा नजिक जाने वा लखेट्ने प्रयास नगर्न स्थानीयवासीलाई आग्रह गरिएको छ।
बस्ती नजिकै बाघ देखापरेको घटनाप्रति भीमदत्त नगरपालिका, वडा कार्यालय, प्रहरी प्रशासन तथा सम्बन्धित वन्यजन्तु निकायले तत्काल ध्यान दिई आवश्यक सुरक्षा तथा व्यवस्थापनका उपाय अपनाउनुपर्ने स्थानीयको माग छ।

