धनगढी, असार १५ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री श्रीमती मधु देवी भारतीले मानवअधिकारको संरक्षण, बालअधिकारको सुनिश्चितता तथा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन्।
राज्यमन्त्री भारतीले सोमबार धनगढीमा आयोजित ‘मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (UPR), बाल अधिकार तथा महिलामाथि हुने सबै प्रकारका हिंसाको अन्त्यसम्बन्धी महासन्धि (CEDAW) का सुझावहरू विषयक अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम–२०८३’ को उद्घाटन गर्दै अन्तर्राष्ट्रिय महासन्धिअन्तर्गत प्राप्त सुझावहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरिन्।
उनले मानवअधिकार, बालअधिकार र लैङ्गिक समानताको क्षेत्रमा भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी चुनौतीहरू समाधान गर्न सरकारी निकाय, स्थानीय तह, नागरिक समाज तथा सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखिन्।कार्यक्रममा मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (UPR), बाल अधिकारसम्बन्धी महासन्धि (CRC) तथा महिलामाथि हुने सबै प्रकारका विभेद तथा हिंसाको अन्त्यसम्बन्धी महासन्धि (CEDAW) अन्तर्गत नेपालले प्राप्त गरेका सुझाव, तिनको कार्यान्वयन अवस्था र प्रदेश तहमा अपनाउनुपर्ने रणनीतिका विषयमा अभिमुखीकरण तथा अन्तरक्रिया गरिएको थियो।कार्यक्रममा प्रदेश सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, मानवअधिकारकर्मी, नागरिक समाज तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको उद्देश्य अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुसार मानवअधिकार, बालअधिकार तथा महिला अधिकारको संरक्षण र प्रवर्द्धनमा प्रदेशस्तरमा प्रभावकारी कार्यान्वयनलाई थप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ।

