महेन्द्रनगर । खुला मञ्चमा सुरु मिनी मनोरञ्जन तथा संस्कृतिक मेलालाई एकपछि अर्को झट्का लागेको छ । सुदूरपश्चिम समावेशी अपाङ्गता संघले पर्यटकीय क्षेत्र पर्यटन प्रवद्र्धन र व्यावसायिक उत्थानका लागि मेला लगाएको हो । मेला व्यवस्थापनको जिम्मा अर्को कम्पनीले लिएको छ ।आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी मेला राति ९ बजेसम्म सञ्चालन हुने जानकारी गराएको थियो । पत्रकार सम्मेलनमा मेलालाई डे नाइट मेला भनेर प्रचार गरिएको थियो । डे नाइट भनिएको मेला साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पर्ने अवस्था आएको छ ।प्रशासन कार्यालयले आयोजकलाई मेला साँझ ७ बजेसम्म मात्रै गर्न निर्देशन दिएको छ । सुरक्षाको कारण देखाउँदै प्रशासन कार्यालयले आयोजकलाई कार्यालयमा बोलाएर साँझ ७ बजेसम्म मात्रै मेला लगाउन निर्देशन दिएको हो ।मेलाका कारण शान्ति सुरक्षामा असर पर्ने गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले आयोजकलाई कार्यालयमा बोलाएका थिए । त्यसपछि प्रमुख जिल्ला अधिकारी ढकालले मेला समय अवधि साँझ ७ बजेसम्म मात्रै मेला सञ्चालन गर्न निर्देशन दिएका हुन् ।प्रशासनले मेलाको समय दुई घण्टा घटाएपछि आयोजक तनावमा परेको छ । प्रशासनको निर्देशनपछि मेला व्यवस्थापन गरि रहेको कम्पनीले समय बढाउन शक्ति केन्द्रसित धाउन थालेको बताइन्छ ।उद्घाटन कार्यक्रमलाई लिएर पनि आयोजक र व्यवस्थापक दुबै तनावमा छन् । मेला उद्घाटनका लागि भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीलाई आमन्त्रण गरिएको थियो । बोगटीले आउन असमर्थता देखाएपछि उप मेयर निलम लेखक जोशीलाई आग्रह गरिएको थियो ।उप मेयर जोशीले पनि आफू आउन नसक्ने बताएपछि वडा अध्यक्षबाट मेला उद्घाटन गरिएको छ । भीमदत्त नगरपालिका ४ का वडा अध्यक्ष ४ का वडा अध्यक्ष सुशील कुमार भट्टर्ला बोलाएर मेला उद्घाटन गरिएको छ ।वडा अध्यक्ष भट्टले रिबन काटेर महोत्सव उद्घाटन गरे । बर्खे याममा खुला मञ्चमा व्यापारिक मेला आयोजना गरिएको यो पहिलो पटक हो ।यस अघि कञ्चनपुर उद्योग बाणिज्य संघ र नेकपा माओवादी केन्द्रको नेपाल उद्योग ब्यापार संगठनले महोत्सव लगाइ सकेका छन् ।महोत्सव प्रवेश शुल्क एक सय रुपैँया लगाइएको छ । विद्यार्थीहरुलाई ५० रुपैँया शुल्कमा मेला हेर्न सक्ने भएका छन् ।आयोजकले मेलाबाट संकलन हुने रकमबाट विभिन्न क्षेत्रलाई सहयोग गर्ने घोषणा गरेको छ ।नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखालाई अक्षय कोषका लागि प्रति टिकट दुई रुपैँया दिइने भएको छ । टिकट आम्दानीको रकमबाट शारीरिक अपाङ्गता समाजको व्हिलचेयर बास्केट बल प्रवद्र्धनका लागि दिइने र पार्किङबाट उठेको रकम जिल्ला क्रिकेट संघलाई दिइने सुदूरपश्चिम समावेशी अपाङ्गता सङ्घका संयोजक उपेन्द्र बहादुर खडाइतले बताए ।मेलामा राष्ट्रिय स्तरका बहुचर्चित कलाकार र स्थानीय कलाकारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

