सोम, जेष्ठ २५, २०८३

सात वर्ष, पाँच गृहमन्त्री, सयौँ अनुसन्धान– निर्मलाको न्याय अझै टाढा!


महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साउन ६ गते राखेको वार्षिक प्रगति समीक्षा कार्यक्रमको खुला छलफलमा पत्रकारहरुले प्रहरी उपरीक्षक (एसपी) खडक बहादुर खत्रीलाई विभिन्न प्रश्न सोधे । त्यसमा पहिलो प्रश्न थियो– एसपी साप निर्मला पन्त प्रकरण अनुसन्धानमा के प्रगति भयो ? एसपी खत्रीले जवाफ दिए, ‘यसमा प्रगति भएको छैन ।प्रहरी कार्यालयमा यस अघिका कार्यक्रममा पनि निर्मला पन्त प्रकरणमा यस्तै जवाफ आउने गरेको थियो ।झण्डै तीन महिना अघि मात्रै कञ्चनपुर प्रहरीको नेतृत्व सम्हालेका खत्रीले पनि विगतका प्रहरी प्रमुखझै निर्मला पन्त प्रकरण अनुसन्धानमा प्रगति नभएको बताएका हुन् ।भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको शनिबार सात वर्ष पुगेको छ । २०७५ असार ९ गते होमवर्क गर्न साथीको घर आएकी पन्त उखुबारीमा मृत भेटिएकी थिइन् ।सात वर्षदेखि अनुसन्धान हुँदै आएको पन्त मृत्यु प्रकरणमा अझैसम्म अनुसन्धान सकिएको छैन । प्रहरीका केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको यो प्रकरणको टुङ्गो लगाएर निर्मलालाई न्याय दिनु पर्ने चौतर्फी माग छ ।गत वर्ष असार ३१ गते काँग्रेस केन्द्रीय सदस्य रमेश लेखक गृहमन्त्री बनेपछि निर्मला पन्त प्रकरण टुङ्गोमा पुग्ने विश्वास बढेको थियो । यो घट्ना गृहमन्त्री लेखकको निर्वाचन क्षेत्रको हो ।गृहमन्त्री लेखक आफैं पनि निर्मलालाई न्याय दिनु पर्ने भन्दै सडकमा आएका थिए । त्यतिबेला प्रतिपक्षी दलमा रहेका उनले हत्याराले सरकारबाटै संरक्षण पाएको दावी गर्दै विरोध गरेका थिए ।लेखकले त्यतिबेला भनेका थिए, ‘दोषीमाथि कारबाही नहुनुले सम्बन्धित निकायको अक्षमता र सरकारको संवेदनहीनता प्रमाणित हुन्छ ।’गृहमन्त्री लेखक अघि ४ जनाले निर्मला पन्त प्रकरणमा हेरि सकेका छन् । गृहमन्त्री लेखकले पनि सुक्ष्म अनुसन्धान संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका थिए ।सरकारले घट्ना छानबिनका लागि विभिन्न समिति बनाएको छ । यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सहित अनुसन्धानमा थुप्रै प्रहरी अधिकृत खटिएर अनुसन्धान गरिएको छ । निर्मलाको न्यायका महेन्द्रनगरबाट सुरु भएको आन्दोलन अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको थियो ।आन्दोलनको क्रममा प्रहरीको गोली लागेर एक जानको ज्यानै गएको थियो । आन्दोलनका क्रममा गोली लागेर धेरै जना घाइते भएका छन् ।उखुबारीबाट शव उठाएर भीमदत्त नगरपालिकाको प्रवेशद्वारमा राखेर आन्दोलन थालिएको थियो । उखुबारीबाट शव उठाउने कार्यपछि प्रहरी अनुसन्धानमा सर्वसाधारणको आशंका बढेको थियो ।सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र घटना रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ । उखुबारीमा शव उठाउँदा प्रमाण नष्ट गरेको आरोप प्रहरीमाथि छ ।निर्मलाको हत्या हुँदा गृहमन्त्री रामबहादुर थापा (बादल) थिए। त्यसपछि कांग्रेसका बालकृष्ण खाण हुँदै रास्वपा सभापति रवि लामिछाने गृह मन्त्रालयको नेतृत्वमा पुगे ।पहिलोपटक गृहमन्त्री बन्दा लामिछानेले पहिलो निर्णय नै निर्मला हत्याका दोषी पत्ता लगाई कारबाही गर्ने थियो । तर उनी दोस्रोपटक गृहमन्त्री बनेर बाहिरिँदा पनि घटनामा संलग्न अपराधी पत्ता लागेन ।माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठपछि लामिछाने दोस्रोपटक गृहमन्त्री बनेका थिए । सात वर्ष बितिसक्दा पनि छोरीका हत्यारा पत्ता नलाग्दा निर्मलाकी आमा दुर्गादेवी पन्त निराश भइसकेकी छन् ।‘पालोपालो गरेर सबै सरकारमा पुगे। तर छोरीले न्याय पाइन। अब कसैमा विश्वास छैन,’ उनले भनिन्, ‘अब न्याय पाउने आशै मरिसक्यो। पहिले–पहिले त प्रहरी आउँथे अचेल त कोही पनि आउँदैनन्।’अनुसन्धान क्रममा हालसम्म प्रहरीले १ सय २४ जनाको डीएनए परीक्षण तथा ६ सय ५५ जनासँग सोधपुछ गरिसकेको छ ।पन्त प्रकरण अनुसन्धानमा हालसम्म किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत १ सय २४ जनाको डीएनए परीक्षण गरिएको हो । उनीहरुमध्ये किरण कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी डिल्लीराज विष्टका छोरा हुन् ।डिएन परीक्षणबाट समेत घटनामा संलग्नता पुष्टि गर्ने रिपोर्ट नआएको प्रहरी बताउँछन् ।कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहराले ‘घटनाको गहिरो तरिकाले अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने काम भइरहेको बताए । ‘अझै निष्कर्षमा पुगिसकेका छैनौँ, उनले भने ।

सम्बन्धित समाचार

Leave a Reply