सोम, जेष्ठ २५, २०८३

प्रविधिको प्रयोगले बजेट कार्यान्वयनमा सुधार


कल्पना साउँद/महेन्द्रनगर, कंचनपुरको भीमदत्त नगरपालिकामा अहिले वित्तसँग सम्बन्धित प्रशासनिक काम गर्न निकै सहज भएको छ । स्थानीय तहको बजेट कार्यान्वयनमा ‘सूत्र’ नामक प्रणाली प्रयोगमा आएसँगै काम सहज भएको नगरपालिकाको अनुभव छ । यस्तै अनुभव दोधारा चादँनी नगरपालिकाको समेत छ ।

प्रविधि प्रयोगपछि एक क्लिकमा धेरै सेवाग्राहीको खातामा एकै पटक रकम जम्मा हुने हुँदा चेक काट्न नपरेको अनुभव कर्मचारीको छ । दोधारा चादँनी नगरपालिकामा समेत यसले काममा सहज भएको कर्मचारी बताउँछन् । सुत्र नामक सफ्टवेयरको प्रयोगपछि योजना तर्जुमादेखि बजेट कार्यान्वयन प्रक्रियामा समेत सुधार आएको हो ।

सुत्रले स्थानीय सरकारको बजेट योजना निर्माण, आयोजना कार्यान्वयन र भुक्तानीमा सहज भएको छ । विगतमा योजनाको भुक्तानीमा प्रशासनिक झन्झटदेखि समस्या आउने भएको अहिले आईसिटीको प्रयोगले योजनाको शुरुवातदेखि भुक्तानीसम्मका सम्पूर्ण प्रक्रियाहरु अत्यन्तै सहज, पारदर्शी र द्रुत बताएको अनुभव कर्मचारीको छ ।

एक क्लिकले धेरै सेवाग्राहीलाई सेवा दिन सक्ने वातावरण बनेको भीमदत्त नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बहादुर बम बताउँछन् । सूचना प्रणालीको प्रयोगले पारदर्शिता, आर्थिक अनुशासन र सेवा गति दुवैमा सुधार ल्याएको उनको अनुभव छ । उनले भीमदत्तमा पनि सूत्रले बजेट कार्यान्वयन प्रक्रिया सहज बनाएको बताए ।

प्रविधिको प्रयोगले कार्यालयमा काम प्रभावकारी बनाएको, बजेट र योजना बनाउन सहज भएको, तथ्याङ्क संकलन, विश्लेषण, अनुगमन, लेखापरीक्षण, मुल्याङ्कनमा समेत सम्पूर्ण चरणमा डिजिटल प्रणाली लागू गरिएको उनले बताए ।

‘विगतमा लामो प्रक्रिया लाग्ने गरेकोमा अहिले मिनेटभरमै काम हुन्छ,’ उनले भने, ‘नेटवर्क अवरोध वा केन्द्रीय सर्भर डाउनजस्ता समस्या देखिए पनि समग्रमा प्रणाली प्रभावकारी छ ।’ हामी आगामी बजेटमा नयाँ सफ्टवेयर, जनशक्ति तालिम र छुट्टै सर्भरको व्यवस्था गर्ने गरी तयारी भएको समेत उनले बताए । उनले भने, ‘यसले हाम्रो वित्तीय प्रक्रिया झन पारदर्शी, जवाफदेही र दीगो बनाउने छ ।’ विगतमा खाता बन्द भएपनि चेक काट्ने प्रचलन रहेको र यसले बजेट दूरुपयोग हुँदै आएको उनी बताउँछन् ।

उनी भन्छन्, ‘ब्याक मितिमा चेक काटेर फिल्डमा काम नसकिएको तर भुक्तानी हुन्थ्यो, अहिले एकै दिन एकै समयमा धेरै भुक्तानी गर्नेदेखिका कर्मचारी, सेवाग्राहीमा समस्या आएपनि प्रविधि प्रयोगले दूरुपयोगको जोखिम हटेको छ ।’ उनले आन्तरिक लेखा परीक्षणमा सहजै तथ्यांक उपलब्ध हुने, भुक्तानी विवरण हेर्न सहज हुने र बाह्यी रुपमा सेवाग्राहीले शीघ्र रकम खातामै जाँदा उनीहरुको बैंकिङ्ग पहुँचदेखि आर्थिक सुरक्षा बढाएको समेत उनको भनाई छ ।

भीमदत्त नगरपालिका सूचना प्रविधि अधिकृत विनय कलौनीले स्थानीय तहको बजेट कार्यान्वयनमा सूचना प्रविधिको प्रयोग अनिवार्य बनेको बताए । उनका अनुसार मन्त्रालयगत बजेट सूचना प्रणाली, एकल कोष खाता प्रणाली, राजस्व व्यवस्थापन प्रणाली, कम्प्युटरकृत लेखा प्रणाली, सूत्र, विद्युतीय कोष हस्तान्तरण प्रणालीजस्ता सफ्टवेयर परस्पर समन्वयमा काम गर्छन् ।

भीमदत्त नगरपालिका–६ का स्थानीय धन सिंह धामीले सूचना प्रविधिको प्रयोगले सेवा छिटो, पारदर्शी र सजिलो भएको अनुभव सुनाए । ‘विगतमा पालिकाबाट भुक्तानी लिदा धेरै समय लाग्ने, त्यसपछि चेक पाईने, चेक साटन लामो लाईन बैकमा बस्नुपर्ने बाध्यता थियो, उनले भने, ‘अहिले सिधै खातामा रकम आउने थालेपछि समय बचतदेखि आर्थिक सुरक्षा भएको छ ।’ दोधारा चादँनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रले बजेट कार्यान्वयनमा सूचना प्रविधिले पारदर्शी शासन र तथ्यमा आधारित निर्णय प्रणालीको आधार खडा गरेको बताए । उनले नगरपालिकाले बजेट निर्माणदेखि खर्च स्वीकृति, अनुगमन र लेखा परीक्षणसम्मको सम्पूर्ण चक्रमा आइसिटि प्रणालीलाई अनिवार्य बनाएको बताए । मिश्रका अनुसार पूँजीगत खर्च, चालू खर्च, सामाजिक सुरक्षा, अनुदान लगायत शीर्षकगत बजेट छुट्याउँदा सुत्र प्रणालीमै सबै विवरण अद्यावधिक गर्ने गरिएको छ ।

अझै पनि समयमा योजना छनोट नहुनु, ठेक्का प्रक्रियामा ढिलाइ, दक्ष जनशक्ति अभावजस्ता चुनौती भने रहेको उनले बताए । ‘पूर्वतयारी, आइसिटि तालिम र नागरिक सहभागितालाई सुदृढ गर्न विशेष बजेट छुट्याउनु पर्ने देखिन्छ । कसलाई कुन समयमा कति भुक्तानी भएको बारे एकिन तथ्याङ्क विवरण सहजै देखिने, अगामी दिनमा योजना बनाउन सहज हुने, योजनाकोे प्राथमिकता राख्ने भुक्तानीकोे विषयमा सेवाग्राही, बैंक र कार्यालयविच देखिने असझदारी अन्त्य भएका छन्, उनले भने । दोधारा चादँनी नगरका लेखपाल गोविन्द सिह ऐरले योजना कागजमा नभएर प्रणालीमै दर्ता हुने र ट्र्याक हुने आइसिटि प्रणालीले निर्णय प्रक्रिया समेत रूपान्तरण गरिरहेको बताए ।

उनले आइसिटि प्रणालीमार्फत वार्षिक योजना स्वीकृत भएपछि सम्बन्धित शाखाले विवरण प्रविष्ट गर्ने र त्यसपछि बजेट विनियोजन, खर्च स्वीकृति, भुक्तानी आदेशसम्मको सम्पूर्ण प्रक्रिया एकीकृत रूपमा कार्यान्वयन हुँदा कामकाजमा सहजता आएको बताए । ऐरका अनुसार सिधै योजना प्रणालीमै हेर्न सक्ने सुविधा रहेको बताउँदै योजना प्रक्रिया, अनुगमन र मूल्यांकनलाई पनि सहज बनाएको छ । उनले हरेक वर्ष सेवाग्राहीलाई भुक्तानी भएको वितरण सहजै तथ्याङ्कले देखाएको बताए । तथ्यांक विश्लेषण क्षमताको खाँचो रहेको उनले बताए । तथ्यांक विश्लेषण मार्फत आगामी योजना बनाउन सक्ने क्षमता अझै विकास हुन बाँकी रहेको उनको अनुभव छ ।

उनले स्थानीय भाषामा प्रणाली सञ्चालन गर्न सके अझ सहज हुने बताए । मोबाइलमैत्री, नागरिकका प्रतिक्रिया समेत लिन सकिने गरी प्रणाली विकास गर्न सके अझ प्रभावकारी हुने उनको अनुभव छ । दोधारा चादनीका स्थानीय मनोज थापाले डिजिटल प्रणाली आएर सिफारिसदेखि बजेट भुक्तानीसम्म सजिलो भए पनि सामान्य मानिसले यसको अनुभव गर्न पाउनु पर्ने बताउँछन् ।

कार्यालयमा जाँदा कहिले सिस्टम चलेन भन्ने, कहिले सर्भर डाउन भयो भनेर फर्काउने गरिएको गुनासो उनको छ । ‘सबै काम डिजिटल भयो भनेर मात्र हुदैँनm उनले भने, ‘जनतालाई सिकाउन पनि त पर्छ ।’लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले डिजिटल प्रणालीले पालिकालाई ‘स्मार्ट प्रशासन’ तर्फ उन्मुख बनाइरहेको बताए । लालझाडी गाउँपालिकाले अहिले कति आम्दानी ग¥यो र खर्च भयो भन्ने विवरण अनलाइनमा अपडेट गर्ने गरेको उनको भनाई छ ।

कुनै सेवाग्राहीले त्यसको हिसाव किताव माग्यो भने एक मिनेटमै उपलब्ध गराउन सहज भएको उनले बताए । सार्कीका अनुसार योजना दर्तादेखि भुक्तानीसम्म सबै प्रक्रिया डिजिटल प्रणालीमै आधारित छन् । सूत्रसहितका सफ्टवेयरको प्रयोगले सेवा सरल, छरितो र पारदर्शी बनाइएको उनले बताए । घरबाटै जन्म, मृत्यु प्रमाणपत्र, सिफारिस कर तिर्ने सुविधा उपलब्ध भएको उनको दावि छ । यसले राज्यप्रति जनविश्वास बढाएको उनी बताउँछन् । तर, प्रविधिको पहुँच सबैमा नहुँदा सेवाग्राहीलाई अझै सहज भने भइनसकेको उनको भनाइ छ ।

‘सूचना प्रणाली अझ प्रभावकारी बनाउन स्थानीय तहलाई छुट्टै सर्भर, पर्याप्त बजेट र आइसिटी दक्ष जनशक्ति आवश्यक छ, ‘उनले भने, ‘तथ्यांक सुरक्षाका मापदण्ड र गोपनीयता नीति समेत स्पष्ट हुनु जरुरी छ ।’ लालझाडी गाउँपालिकाका सूचना प्रविधि अधिकृत नरेश चौधरीले आइसिटी प्रणालीले नागरिक सेवामा समेत आमूल परिवर्तन ल्याएको बताए । उनले अब नागरिकले घरमै बसेर मोबाइल एप वा वेबसाइटमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ प्रमाणपत्रका लागि आवेदन दिन सक्ने र कर तिर्न, नागरिकता सिफारिस गर्न समेत अनलाइन सेवा उपलब्ध रहेको बताए । चौधरीका अनुसार प्रणालीले पारदर्शिता मात्र नभएर जनविश्वास समेत बढाएको छ ।

लालझाडी गाउँपालिकाका स्थानीय अजय राना मालपोत कर बुझाउन वडा कार्यालयमा कर्मचारीले ५ मिनेटमै काम गरिदिएको बताए । प्रविधिको प्रयोगले काम निकै छिटो र सहज भएको उनले बताए । यसै गरि राधा भानु निर्माण व्यवसायीले पनि बेल्डाँडी गाँउपालीकाको ठेक्काको आफ्नो काम सम्पन्न भएपछि अनलाइन माध्यमबाटै भुक्तानीका लागि बील पेश गरेर त्यसको अनलाइन माध्यमबाटै जवाफ आएको अनुभव सुनाए ।

सम्बन्धित समाचार

Leave a Reply