२०८३ कार्तिक १४, शनिवार

घटाल बहुमुखी क्याम्पसको पहलमा बेदकोट–८ मा लागुऔषध दुर्व्यसन न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


आदित्य जोशी ,कञ्चनपुर,बेदकोटका सबै १० वटै वडामा समुदाय–प्रहरी साझेदारी तथा सामाजिक सचेतना कार्यक्रम सञ्चालन गर्ने क्याम्पसको लक्ष्यकञ्चनपुर, कार्तिक १३। घटाल बहुमुखी क्याम्पसको पहल, बेदकोट नगरपालिका वडा नं. ८ को समन्वय तथा वडा प्रहरी कार्यालयको साझेदारीमा मिति २०८३ कार्तिक १३ गते लागुऔषध दुर्व्यसन न्यूनीकरण तथा समुदाय–प्रहरी साझेदारीसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

वडा प्रहरी कार्यालयका प्रमुख श्री बिर्खबहादुर साउँदको अध्यक्षता, बेदकोट नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्री महेशराज जोशीको प्रमुख आतिथ्य तथा घटाल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्री देवदत्त पन्तको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा प्रेरक वक्ता तथा योग शिक्षक श्री लोकराज अवस्थी, वडा सदस्यहरू, टोल विकास संस्थाका अध्यक्ष तथा सदस्यहरू, अभिभावक, विद्यार्थी र स्थानीय समुदायको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन घटाल बहुमुखी क्याम्पसका लेखापाल श्री भरतसिंह साउँदले गर्नुभएको थियो।“लागुऔषधमुक्त समाज निर्माण गरौँ, आफ्नो गाउँ आफैँ बनाऔँ” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा लागुऔषध दुर्व्यसनका नकारात्मक असर, रोकथामका उपाय, परिवार तथा समुदायको भूमिका र प्रहरीसँगको सहकार्यका विषयमा छलफल गरिएको थियो।

विशेषगरी युवाहरूलाई लागुऔषधको कुलतबाट जोगाउन खेलकुद, योग, सिर्जनात्मक गतिविधि, सीपमूलक तालिम तथा सामाजिक सेवामा सहभागी गराई उनीहरूको समय र क्षमतालाई सकारात्मक कार्यमा उपयोग गर्नुपर्ने विषयमा जोड दिइएको थियो। साथै, युवाहरूलाई गाउँटोलका विकास तथा सामाजिक सुधारका गतिविधिमा सक्रिय गराउने विषयमा समेत छलफल भएको थियो।कार्यक्रममा लागुऔषध दुर्व्यसन नियन्त्रण प्रहरीको मात्र जिम्मेवारी नभई अभिभावक, शिक्षण संस्था, स्थानीय सरकार र सम्पूर्ण समुदायको साझा दायित्व भएको सन्देश दिइएको थियो।

घटाल बहुमुखी क्याम्पसले उच्च शिक्षासँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै बेदकोट नगरपालिकाका सबै १० वटै वडामा यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ। यसका लागि सम्बन्धित वडा कार्यालय, प्रहरी, विद्यालय, युवा क्लब, टोल विकास संस्था तथा स्थानीय समुदायसँग समन्वय र सहकार्य गरिनेछ।क्याम्पसले औपचारिक शिक्षामा मात्र सीमित नरही समाजमा देखिएका समस्या समाधान, युवा सशक्तीकरण, सकारात्मक सोचको विकास र सामाजिक जागरणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

शिक्षण संस्थाले शैक्षिक जनशक्ति उत्पादनसँगै जिम्मेवार नागरिक र सभ्य समाज निर्माणमा समेत भूमिका खेल्नुपर्ने मान्यताका साथ यो अभियान अघि बढाइएको हो।“आफ्नो गाउँ आफैँ बनाऔँ” भन्ने भावनालाई व्यवहारमा उतार्दै युवाहरूलाई समाज निर्माणको अभियानमा जोड्ने, स्थानीय समस्याको समाधानमा समुदायलाई सक्रिय बनाउने र दुर्व्यसनमुक्त वातावरण निर्माण गर्ने लक्ष्यसहित कार्यक्रम सम्पन्न भएको थियो।घटाल बहुमुखी क्याम्पसको संकल्प : शिक्षासँगै सामाजिक चेतना, युवामा सकारात्मक परिवर्तन र दुर्व्यसनमुक्त बेदकोट निर्माण।

सम्बन्धित समाचार