मुस्ताङ, कात्तिक ७ । दसैँअघि सुनसान बनेको हिमाली जिल्ला मुस्ताङमा पर्यटकको आगमन बढ्न थालेको छ। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा प्रभावित बनेको पर्यटन क्षेत्रमा दसैँपछि चहलपहल बढेको हो।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दसैँको टीकापछि बिहीबार र शुक्रबार दुई दिनमा सात हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका छन्।
बिहीबार तीन हजार ३३ र शुक्रबार चार हजार ८१३ जना पर्यटक भित्रिएका हुन्।यसअघि घटस्थापनादेखि विजया दशमीसम्मको १० दिनमा बेनी–जोमसोम सडकमार्ग हुँदै पाँच हजार ६६३ जना पर्यटक मुस्ताङ आएका थिए। तीमध्ये चार हजार ४०९ जना विदेशी पर्यटक रहेको प्रहरीको तथ्याङ्क छ।भोटेकोशीमा आएको बाढी तथा असोज ११ गतेको भारी वर्षाले बाढीपहिरो र नदी कटान हुँदा बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पर्यटक आगमन घटेको थियो।
अहिले दसैँ–तिहारको बिदासँगै पर्यटक बढ्न थालेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन्।चालु वर्षको साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८ र असोजमा १८ हजार ६०१ जना पर्यटक मुस्ताङ पुगेका थिए।मुक्तिनाथ मन्दिर, कोरला नाका, लोमान्थाङ दरबार, झोङ गुफा, ढुम्बाताल र टिटी ताललगायतका धार्मिक तथा पर्यटकीय गन्तव्य मुस्ताङका प्रमुख आकर्षण हुन्। दसैँ–तिहार र छठसम्म पर्यटकको आगमन अझ बढ्ने स्थानीय व्यवसायीको अपेक्षा छ।रासस

