शुक्र, भदौ २६, २०८३

सेतीमा बेड नपाएपछि मुख्यमन्त्रीलाई गुहार, फोन गएपछि बिरामीको बेड व्यवस्थापन


धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेकी एक प्रसूति पीडित महिलाले बेड नपाएपछि मुख्यमन्त्री खगराज भट्टलाई गुहार गरेकी छन्। मंगलबार प्रसूति पीडाबाट छट्पटाइरहेकी बैतडीको पाटन नगरपालिका–१० पनालीकी शुभद्रा कलौनी पन्तले अस्पतालमा बेड नपाएपछि मुख्यमन्त्री भट्टसमक्ष सहयोगको आग्रह गरेकी हुन्।पन्तलाई प्रसूति गराउन सुरुमा खोडपे लगिएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि उनलाई डडेल्धुरा अस्पताल रिफर गरिएको थियो। डडेल्धुरामा समेत उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएको शुभद्राका श्रीमान दिनेश पन्तले जानकारी दिनुभएको छ ।तर, सेती अस्पताल पुगेपछि पनि तत्काल बेड उपलब्ध नभएपछि परिवारले मुख्यमन्त्री भट्टसँग सहयोग मागेको थियो।

त्यसपछि मुख्यमन्त्री भट्टले बिरामी उपचारको ब्यबस्थापन गर्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको थियो । मुख्यमन्त्रीको निर्देशन पछि पन्तका लागि बेड व्यवस्थापन गरी उपचार अघि बढाइएको बताइएको छ।सेती प्रादेशिक अस्पतालको सेवा सुधारलाई प्राथमिकतामा राख्दै आएका मुख्यमन्त्री भट्टले अस्पतालमा आउने बिरामीको उपचारमा सहजता ल्याउन तथा जनताका स्वास्थ्यसम्बन्धी समस्यामा प्रत्यक्ष चासो दिँदै आउनुभएको छ।

विशेषगरी उपचारका क्रममा बेड, सेवा तथा अन्य समस्या भोगिरहेका नागरिकका गुनासालाई तत्काल सम्बोधन गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।प्रसूति जस्तो संवेदनशील अवस्थामा अस्पतालमा बेड अभावका कारण बिरामीले समस्या भोग्नुपरेको घटनाले सेती प्रादेशिक अस्पतालमा थप सुधार र सेवा व्यवस्थापनको आवश्यकता पनि औँल्याएको छ।

सम्बन्धित समाचार