कञ्चनपुर, १८ साउन । सशस्त्र प्रहरी बल, नेपाल नं। ३५ गण मुख्यालय शैलेश्वरीले आर्थिक वर्ष २०८२र०८३ मा ११ करोड ७२ लाख २५ हजार ३ सय ३४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । सीमा सुरक्षा, तस्करी नियन्त्रण, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल गरेको गणले जनाएको छ ।
गणको २३ औँ स्थापना दिवसका अवसरमा सोमबार शुक्लाफाँटा नगरपालिका ५ वनसमिति स्थित गणको मुख्यालयमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार एक वर्षमा लागूऔषध सम्बन्धी ३१ घटनामा ५० जनालाई पक्राउ गरिएको छ । एक नाल भरुवा बन्दुक बरामद गरिएको छ भने बरामद भएका अवैध सामान सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको गणले जनाएको छ ।
समारोहमा गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम प्रकाश सिग्देलले जिल्लाको समग्र शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापन, विशिष्ट व्यक्ति सुरक्षा, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइएको बताए । उनका अनुसार विपद्का ३४ घटनामा सुरक्षाकर्मी परिचालन गरी ४१ जनाको जीवित उद्धार गरिएको छ भने १० वटा शव खोजी तथा उद्धार गरिएको छ ।
विपद् प्रतिकार्य क्षमता अभिवृद्धिका लागि १८ पटक नमुना अभ्यास र १७२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी एक हजार २ सय ५५ जनालाई सहभागी गराइएको उनले जानकारी दिए ।सीमा सुरक्षातर्फ १२ पटक सीमा पैदल गस्ती, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० सँग ६ वटा समन्वय बैठक तथा ५०० पटक संयुक्त सीमा गस्ती सञ्चालन गरिएको विवरणमा उल्लेख छ ।
साथै १३ वटा सीमा स्तम्भ सशस्त्र प्रहरीले मर्मत तथा रंगरोगन गरेको तथा संयुक्त फिल्ड सर्वे टोलीमार्फत ५२ वटा सीमा स्तम्भ मर्मत, तीन वटा नयाँ सीमा स्तम्भ निर्माण र चार वटा सीमा स्तम्भ पुनर्निर्माण गरिएको जनाएको छ ।समुदायमा आधारित विपद् व्यवस्थापन कार्यक्रमअन्तर्गत शुक्लाफाँटा र बेलौरी नगरपालिकाका ३८ जनालाई दुई चरणमा समुदाय विपद् स्वयंसेवक तालिम प्रदान गरिएको छ ।
विपद्को सूचना प्रणालीलाई प्रभावकारी बनाउन दुई हजार ५ सय ९२ जना विपद् सूचक तथा निर्वाचन प्रहरीलाई अभिलेखीकरण गरी निरन्तर सम्पर्कमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक सिग्देलले बताए ।स्थानीय तहसँगको सहकार्यमा दोधाराचाँदनी, भीमदत्त, पुनर्वास र बेलौरी नगरपालिकाबाट चार वटा रबर राफ्ट बोट प्राप्त भएपछि महाकाली नदीमा आएको बाढीका क्रममा दुई जनाको सकुशल उद्धार गर्न सफल भएको उनले बताए ।
सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, भारतको एसएसबीसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता, युवालाई केशकर्तन तालिम तथा अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत सञ्चालन गरिएको उनले जानकारी दिए ।चालु आर्थिक वर्ष २०८३र०८४ को साउन महिनाको हालसम्म मात्रै पनि ५० लाख २६ हजार १ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको पनि गणले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं। ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिग विजय सुवेदीले सीमा सुरक्षासँगै मानवीय सेवामा सशस्त्र प्रहरीको भूमिका अझ प्रभावकारी बन्दै गएको बताए । उनले सीमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी र विपद् व्यवस्थापनमा स्थानीय तह, प्रशासन तथा नागरिकसँगको समन्वयलाई थप सुदृढ बनाउन निर्देशन दिए ।
प्राप्त उपलब्धिलाई कायम राख्दै अझ व्यावसायिक, अनुशासित र परिणाममुखी ढंगले सेवा प्रवाह गर्न उनले मातहतका सुरक्षाकर्मीलाई आग्रह गरे ।प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले कञ्चनपुरको शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा सीमा अपराध नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिका प्रभावकारी रहेको बताए ।
जिल्लामा हुने विपद्, उद्धार तथा सीमावर्ती चुनौती सामना गर्न सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय प्रशासनबीचको समन्वयले सकारात्मक परिणाम दिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नागरिकको सुरक्षा र सेवा प्रवाहलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।
स्थापना दिवस समारोहमा विभिन्न सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रममा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा विपद् सूचकलाई सम्मान गर्नुका साथै गणले वर्षभरि गरेका गतिविधिबारे जानकारी गराइएको थियो ।

